नेपाल दूरसञ्चार कम्पनीको चौधौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ।
काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका सेयरधनीहरूलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस सेयर र प्रति सेयर रु. २० को दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ।
साधारण सभामा करिब ९२ प्रतिशत सेयरधनीहरूको उपस्थिति थियो। उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गरेको छ।
यसैैगरी साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गरेको छ। साथै, उनीहरूको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्तहरू निर्धारण गरेको छ।
कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कम्पनीको चौधौं वार्षिक प्रतिवेदन पेश गरे। उनले उपभोक्ताको अपेक्षा अनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाको रूपमा विकास गर्न सबैबाट प्राप्त सहयोग, सद्भाव, विश्वास र रचनात्मक सुझावका लागि आभार व्यक्त गरे।
उनले कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले कर तथा गैर-कर वापत आफ्नो कुल आयको ५० प्रतिशतभन्दा अधिक रकम अर्थात् २७ अर्ब ७३ करोड रुपैयाँ राजस्व दाखिला गरेको समेत कार्यक्रममार्फत बताए। सो अवधिमा संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा नेपाल सरकारद्वारा सम्मानित भएको छ।
टेलिकमले इन्टरनेटको बहु उपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुको साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रीत गरेको छ। स्याटेलाइट प्रविधिको समेत प्रयोगद्वारा विकट हिमाली जिल्लाहरूमा वायरलेस तथा वायरलाइन सेवा उपलब्ध गराइरहेको छ। मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बिटिएस तथा ट्रान्समिसन उपकरणहरू जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटिई सेवा र एफटिटिएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिएको छ।
कम्पनीका अनुसार नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पुर्याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। नेपाल सरकारको नीतिअनुरूप स्थानीय तहको केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक क्याम्पसमा इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिनुका साथै स्थानीय तहहरूमा फोरजी सेवा विस्तार गरिएको छ।
यस आर्थिक वर्षमा कम्पनीको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई २ करोड ११ लाख पुगेको छ। कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जिएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ। साथै, कम्पनीको डेटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको छ।
बजारको मागअनुसार कम्पनीले डेटा सेवामा जोड दिइ सोही अनुरूप आफ्नो योजना कार्यान्वयन गर्दै सुविधा उपलब्ध गराउँदै आएको छ। यस आर्थिक वर्षमा कम्पनीले डेटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीको ब्रोडब्याण्ड डेटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको छ।
कम्पनीको कुल राजस्व ४२ अर्ब २१ करोड र खूद नाफा ७ अर्ब १३ करोड रुपैयाँ कायम गर्न समेत कम्पनी सफल भएको कम्पनीद्वारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ।
कम्पनीका अनुसार उपभोक्ताको चाहना बमोजिम नवीनतम प्रविधिमा आधारित गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउनु कम्पनीको प्रमुख लक्ष्य रहेको र यसका लागि डेटा सेवा, भ्यालु एडेड सेवा लगायतका नवीनतम प्रविधिमा आधारित सेवाहरूको विकास तथा विस्तार गरिएको छ।
चौधौं साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम बिहीबारदेखि सेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था गरिएको समेत जारी विज्ञप्तिमा उल्लेख छ।