आइएमई पे र दराजबीच नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने अवसरमा सम्झौता भएको छ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवन्धित आइएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट दिइने विषयमा सम्झौता भएको हो।
उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन्।
आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ गतेदेखि २०७९ वैशाख ७ गतेसम्मको लागि आइएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन विहान १२ बजेदेखि १२: ३० बजेसम्म १० प्रतिशत छुट , एक हजार रुपैयाँ अधिकतम र अभियान सुरू भएको पहिलो आधा घण्टा पछि दैनिक रस हावर आधा-घण्टामा १० प्रतिशत छुट अधिकतम अर्थात्, सात सय ५० रुपैयाँसम्म हुने व्यवस्था मिलाइएको छ।
रस हावरको समय बिहान ८ बजेदेखि ८:३० बजेसम्म र दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म हुनेछ। साथै, दराजको रु. १ को गेममा पनि सहभागी भएर उपभोक्ताहरूले सामसङ ए-०३ कोर, ७*५ फिटको खाट र रियलमीको नार्जो ५० जस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन्।
आइएमईका अनुसार यो अभियानको मोडालिटी सामूहिक भाउचर हुनेछ, जहाँ प्रयोगकर्ताले आइएमइ पे भाउचर सङ्कलन गरी छुट रिडिम गर्न सक्न्छन्।
यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीहरूलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाट सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।