विश्वकै धनाड्य एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन्। मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन्।
केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन्। उनले ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेको बताएका छन्।
ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले जानकारी दिएका छन्।
‘यो सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई आकर्षक प्रिमियम प्राप्त हुने भएकाले ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो,’ टेललेरले भने।
ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियाँलाई प्रभावित पार्ने उल्लेख गर्दै ट्वीटरका सीईओ पराग अग्रवालले हामीलाई हाम्रो टिममा गर्व रहेको बताए।
ट्वीटर कम्पनी खरिद गरिसकेपछि मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको बताएका छन्। उनले ट्वीटर मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने डिजिटल टाउन भएको जिकिर गरे।
ट्वीटर कम्पनी खरिद गरिसकेपछि उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन्।
त्यसबेला ट्विटरमा ‘व्यापक सम्भावना’ रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने मस्कले बताएका थिए।
उनले यसअघिनै नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए।
‘नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु,’ सम्झौतापछि उनले भनेका छन्।
‘ट्विटरमा व्यापक सम्भावना छ- त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु’, उनले अगाडि भनेका छन्।
फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर छ।
उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयर धनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन्।