यही वैशाख १९ गते अर्थात् मे २ तारिखमा मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस- २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने भएको छ।
कम्पनीका ग्राहकहरूका लागि टेलिकमले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो। यो अफर वैशाख १८ गतेदेखि वैशाख २४ (मे १ तारिख मे ७ तारिख) सम्म उपलब्ध हुनेछ।
अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ। त्यसैगरी, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डेटा र अन-नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँमा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने बताइएको छ।
ग्राहकहरूले *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सुविधा खरिद गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
साथै, जम्मा २०० रुपैयाँदेखि ४९९ रुपैयाँ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डेटा प्याक र ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने २ जिबी डेटा प्याक पनि उपलब्ध हुनेछ।
यी अफरबाट ग्राहकहरूले लाभ लिई सूचना प्रविधि-मैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ।