एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि ‘पहिलो सिम’ योजना ल्याएको छ।
यो योजनामा एसइईका विद्यार्थीले प्रिपेड सिम किन्दा सोसल मिडिया प्रयोग गर्न ४ जिबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
यो योजना शुक्रबार वैशाख १६ देखि सञ्चालनमा आएको हो। एसइई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरूबाट यो पहिलो सिम लिन सक्ने छन्।
कम्पनीका अनुसार यो सिम करसहित ४८ रूपैयाँमा लिन सकिने छ। यो सिम कार्डमा विद्यार्थीले १० रूपैयाँ मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, यूट्युब र टिकटक) प्रयोग गर्न ४ जिबी डेटा (हरेक हप्ता १ जिबी डेटा गरी चार सातासम्म) को फाइदा लिन सक्ने छन्।
यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्ने छन्। यसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक ५० रूपैयाँ वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउन १ जिबी डेटा बोनस स्वरूप प्राप्त गर्ने छन्। प्राप्त बोनस डेटा ७ दिनका लागि मान्य हुनेछ।
'सामाजिक सञ्जाल प्रयोगका लागि निश्चित डेटा भोल्युमसहित एसइई दिएका विद्यार्थीका लागि पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकामा कम्पनी खुसी छ,' एनसेलले भनेको छ।