तपाईंको युट्युब खोल्दा सुरूमा कस्तो भिडिओ आउँछ? कुन च्यानलको के सम्बन्धी भिडिओ देख्नुहुन्छ?
कोही व्यक्तिकोमा समाचार सम्बन्धी च्यानलको भिडिओ देखाउँला, कसैकोमा खेलकुद सम्बन्धी भने कसैकोमा प्रविधिसम्बन्धी। अथवा कसैकोमा मनोरञ्जन सम्बन्धी च्यानल जसले तपाईंको लागि गीत र फिल्म हेर्न सजेस्ट (सिफारिस) गर्छ।
तपाईंले युट्युबमा हेर्नुभएको पुराना भिडिओहरू र तपाईंको सर्च हिस्ट्रीको (कुन/के/कस्तो भिडिओ खोज्नुभयो भन्ने) आधारमा युट्युबले तपाईंको लागि सिफारिस भिडिओ विकल्प देखाउँछ। त्यसैले तपाईंले जस्तो श्रेणीको भिडिओ हेर्नुहुन्छ, त्यसैसम्बन्धी भिडिओ युट्युब खोल्ने बित्तिकै देख्नुहुन्छ।
यस्तोमा आफ्नो सर्च हिस्ट्री डिलिट गर्नुभयो भने तपाईंको सिफारिस भिडिओ परिवर्तन हुन सक्छ। युट्युबले तपाईंको पुरानो सर्च भिडिओहरूको आधारमा सिफारिस भिडिओ देखाउँदैन।
कसरी डिलिट गर्ने सर्च हिस्ट्री?
- सुरूमा युट्युब एप खोल्नुहोस् र आफ्नो युट्युब खातामा साइन-इन गर्नुहोस्।
- यसपछि स्क्रिनको सबैभन्दा माथि दायाँपट्टी रहेको अकाउन्ट प्रोफाइल आइकन थिच्नुहोस्।
- यहाँ तपाईंले विभिन्न विकल्पहरू देख्नुहुन्छ। त्यसमध्ये, सेटिङ्स भन्ने विकल्प रोज्नुहोस्।
- यसभित्र पनि क्रमशः 'प्यारेन्टल सेटिङ', 'जेनरल','डेटा सेभिङ','अटो-प्ले' लगायत विकल्प देख्नुहुन्छ। त्यसमध्ये 'हिस्ट्री एन्ड प्राइभेसी' भन्ने विकल्प थिच्नुहोस्।
- यसपछिको पृष्ठमा तपाईंको सुरूमा 'क्लियर वाच हिस्ट्री' अर्थात् युट्युबमा हेरिएको भिडिओहरूको हिस्ट्री सबै डिलिट गर्ने र 'क्लियर सर्च हिस्ट्री' अर्थात् युट्युबमा सर्च गरिएको भिडिओहरू डिलिट गर्ने भन्ने विकल्पहरू देख्नुहुन्छ। त्यसमध्ये दोस्रो विकल्प चयन गर्नुहोस्।
यसपछि युट्युबले मेसेज बक्समा साँच्चै सर्च हिस्ट्री डिलिट गर्ने हो वा होइन भन्दै मेसेज देखाउँछ। यसमा तपाईंले 'क्लियर सर्च हिस्ट्री' भन्ने विकल्प थिच्नुहोस्।
यसरी तपाईंले आफ्नो युट्युबको सर्च हिस्ट्री डिलिट गर्न सक्नुहुन्छ। अब भने युट्युबमा तपाईंको लागि देखाउने सिफारिस भिडिओहरूमा पहिले तपाईंले हेर्नुभएको विधा अथवा श्रेणीको भिडिओहरू मात्र देखाउँदैन। युट्युबले विभिन्न श्रेणीको च्यानल तपाईंको सिफारिसमा राखिदिन्छ।
यदि तपाईंलाई आफूले पहिले हेरेको भिडिओहरूको सूची पनि डिलिट गर्न मन भए 'हिस्ट्री एन्ड प्राइभेसी' भित्र रहेको 'क्लियर वाच हिस्ट्री' अर्थात् युट्युबमा हेरिएको भिडिओहरूको हिस्ट्री सबै डिलिट गर्ने भन्ने विकल्प रोजेर वाच हिस्ट्री डिलिट गर्न सक्नुहुन्छ।