एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधिमा १०० चेञ्जमेकरको सूचीमा परेका छन्। ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को १०० जनाको सूचीमा पर्न सफल भएका हुन्।
विश्व प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता,संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देश बाहेकका १०० जनालाई यो सूचीमा समावेश गरिन्छ।
ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ? कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वर्ल्डको सम्पादकीय टिमले जनाएको छ।
रेष्ट अफ वर्ल्डको सूचीमा विश्वव्यापी रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ। टेक्नोलोजी इको सिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यो सूचीमा समावेश गरिन्छ। ‘रेष्ट अफ वल्र्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम लगानीकर्ताहरू, उदयीमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ।
सूचीमा समावेश भएपछि ढकालले भने, ‘मैले सधैँ मेरो देशमा आमुल परिवर्तनको परिकल्पना गरेको छु, जहाँ सबैलाई डिजिटल फाइनान्समार्फत सशक्त बनाइन्छ।’ रेष्ट अफ वल्र्डले आफ्नो परिकल्पनालाई पहिचान गरेर सूचीमा समावेश गरेकोमा उनले खुसी व्यक्त गरे।
ढकाल सन् २०१७ मा ‘म्यानेजर अफ द इयर’ बाट पनि सम्मानित भएका थिए। त्यस्तै अमेरिकी राज्यविभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भएका हुन्।