भुक्तानी सेवा प्रदायक ई-सेवाको मोबाइल एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एन्ड्रोइडको ५० लाखको कोशेढुङ्गा हाँसिल गर्ने ई-सेवा पहिलो कम्पनी भएको छ।
नेपालमा ई-सेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको छ। कम्पनीले एन्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई आफ्नो एप मार्फत सेवा प्रदान गरिरहेको छ।
ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत सहजता ल्याएको छ।
एन्ड्रोइडमा ५० लाख बढी ग्राहक संख्या पुगेको अवसरमा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, 'बढ्दो मोबाइल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एपहरूमा आकर्षण बढ्दो छ। ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै ई-सेवाले आफ्ना सेवाहरू मोबाइल एपमा अझै परिस्कृत रूपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौं।'
५० लाख मोबाइल एप डाउनलोड भएको अवसरमा ई-सेवाले बुधबारका लागि '५० लाखको कमाल, क्यासब्याक बबाल' अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ई-सेवा प्रयोगकर्ताले बुधबार हरेक घण्टा ५ प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाइल टपअपमा ५५ रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।
अफरअन्तर्गत हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ। यसअन्तर्गत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनैपनि कम्पनीको मोबाइलमा टपअप, ९ देखि १० बजेसम्म डेटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आइएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई-लर्निङको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
यसैगरी १२ बजेदेखि दिउँसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत महशुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टपअपमा ५ प्रतिशत क्यासब्याक पाइनेछ।
बेलुकी ५ः५५ देखि ५ः५६ सम्मको एक मिनेटमा कुनैपनि ग्राहकले मोबाइल टपअप सेवामा ५५ रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ई-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।