भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख प्रविधि अधिकारी (टेक्नालोजी अफिसर)मा सुवास थापा नियुक्त भएका छन्। उनलाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो।
वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्षभन्दा बढी सेवा अनुभव सम्हालेका थापाले नेपाल क्लियरिङ हाउसमा 'हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट' को रूपमा काम गरेका थिए।
राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरू कार्यान्वयन गर्न समेत उनी प्रमुख भूमिकामा थिए। व्यवसाय प्रक्रिया पुनः इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेशनको कार्यान्वयनमा सक्रिय रूपमा सुवास थापा संलग्न छन्।
कम्प्युटर एप्लिकेसनमा स्नातकोत्तर सकेका थपासँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट 'क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन' कार्यक्रम पूरा गरेको अनुभव पनि छ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। साथै, फोनेमार्फत अन्तर बैंक रकम ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ।
फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन्। एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।