हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ।
एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिनाअघि मात्र यो सुविधा प्रयोगकर्तामाझ सुरू गरेको थियो।
हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको हाम्रो पात्रो इंकका फाउन्डर/सीईओ शंकर उप्रेतीले जानकारी दिए।
यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको उप्रेतीले जनाएका छन्। ‘म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु। हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुबिधा दिनु हो। त्यसै गरि ‘इन्स्ट्यांन्ट ट्रान्सफर’ सुविधा चाडै आउने छ’, उप्रेतीले भने, ‘जस अन्तर्गत पैंसा पठाएको केही समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैंसा डिपोजिट हुनेछ।’
रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरूआती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।
हाम्रो पात्रो एप १ करोड पटक डाउनलोड भइसकेको र एपले दैनिक १७ लाख तथा मासिक १ करोड दश लाख सक्रिय प्रयोगकर्ता रहेको उप्रेतीले जानकारी दिए।
पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।