युरोपेली संघ (इयू) ले आफ्नो सदस्य राष्ट्रहरूमा बिक्री हुने सबै प्रकारका विद्युतीय उपकरणमा युएसबी चार्जिङ टाइप-सी पोर्ट अनिवार्य गर्ने घोषणा गरेको छ।
संघका सदस्य देशहरूमा बिक्री हुने मोबाइल फोन, ट्याब्लेट, हेडफोन, भिडिओ गेम कन्सोल, ई-रिडर्स, क्यामराहरू लगायत उपकरणमा टाइप-सी चार्जिङ पोर्ट हुने सहमति भएको हो। उक्त व्यवस्था सन् २०२४ सम्म लागू हुने प्रविधि वेबसाइट द भर्जले जनाएको छ।
सबै फोनहरूमा एकै किसिमको चार्जर अनिवार्य गर्नाले विद्युतीय फोहोर (ई-वेस्ट) लाई व्यवस्थापन गर्न सकिने संघको भनाइ छ। यसो हुँदा सबै उपकरणहरूमा प्रयोगकर्ताहरूको पहुँच पनि सहज हुन्छ। किनभने उपभोक्ताहरूले फरक-फरक उपकरणमा फरक-फरक चार्जर प्रयोग गरिरहनु पर्दैन। र, सबै उपकरणमा एकै किसिमको चार्जर समर्थन गर्छ।
इयूका अनुसार संघले करिब एक दशक अघिदेखि नै उक्त विषयमा अध्ययन गरिरहेको थियो। मंगलबार भने संघले घोषणा नै गरेको हो।
एकै किसिमको चार्जर प्रयोग गर्ने सम्झौताको सबैभन्दा बढी प्रभाव भने एप्पललाई पर्ने भएको छ। एप्पलले हाल आफ्नो स्मार्टफोनको लागि प्रोपेरिटरी पोर्ट उपलब्ध गराउँदैछ। एप्पलले सन् २०२१ मा मात्रै २४ करोड १० लाखभन्दा बढी फोन बिक्री गरेको थियो। जसमध्ये ५६ लाख बढी फोन युरोपमा बिक्री भएको छ।