नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरू निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटिटिभी’ एपको परीक्षण सुरू गरेको छ।
सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रूपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको हो।
उक्त एपमार्फत एन्ड्रोइड र आइओएसका मोबाइलहरूमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरू लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरू प्रत्यक्ष हेर्न सकिने टेलिकमले जनाएको छ।
यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरूले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटिटिभी’ एप डाउनलोड गर्नुपर्ने हुन्छ। यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटिपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ।
यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डेटा प्याक तथा वाइफाइमार्फत सहजै हेर्न सकिन्छ। एपमा भएका च्यानलहरू हेरेवापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन।