युट्युबले प्रयोगकर्ताहरूको सहजीकरणका लागि नयाँ फिचर थपेको छ। युट्युबले अपलोड गरिसकेको भिडिओ सम्पादन गर्न मिल्ने ‘करेक्सन’ फिचर सार्वजनिक गरेको हो।
अमेरिकी प्रविधि वेबसाइट द भर्जका अनुसार यो नयाँ फिचरको प्रयोगमा प्रयोगकर्ताहरूले अपलोड गरिसकेको भिडिओलाई डिलिट नगरी त्यसमा कुनै गल्ती भए सम्पादन गर्न सक्नेछन्।
यसभन्दा अघि युट्युबमा एकपटक अपलोड भएको भिडिओ सम्पादन गर्न मिल्दैनथ्यो। भिडिओमा केही गल्ती भएमा प्रयोगकर्ताले आफ्नो भिडिओ डिलिट गरेर, गल्ती सम्पादन गरेर पुनः अपलोड गर्नुपर्ने हुन्थ्यो। यसो गर्दा प्रयोगकर्ताहरूको लाइक र कमेन्टहरू गुम्थ्यो। अथवा भिडिओ डिलिट नगरी भिडिओमा भएको गल्तीलाई त्यसको डिस्क्रिप्सनमा लेख्न सकिन्थ्यो। यसो हुँदा पनि प्रायः अन्य स्रोताले ख्याल गरिरहेका हुँदैनन्।
युट्युबको नयाँ फिचरले भने अब भिडिओ डिलिट नगरी त्यसैमा सम्पादन गर्न सकिन्छ। अर्थात्, पोस्ट भइसकेको भिडिओको गल्ती सच्याउन सकिन्छ। द भर्जका अनुसार भिडिओमा सच्चाइएको कुरालाई भिडिओको छेउमा हुने ‘इन्फोकार्ड’ बक्समा देखाइनेछ।