आगामी साउन १ गतेदेखि १० करोड रुपैयाँभन्दा माथिको वस्तु तथा सेवा कारोबार गर्नेले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बिल बिजक जारी गर्नुपर्ने व्यवस्थालाई स्मार्ट मिसन टेक्नोलोजी प्रालिले सघाउन सक्ने बताएको छ। ललितपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीले यस्तो बताएको हो।
'सन् २०१३ गते हामीले सूचना प्रविधि तथा सफ्टवेयर विकासमा काम गर्दै आएका छौं,' कम्पनीका कार्यकारी अधिकृत (सिइओ) सुरेश पाण्डेले भने, 'अहिलेसम्म एक हजारभन्दा बढी सेवाग्राहीले हामीबाट विद्युतीय बिजक लगायतका सेवा लिइरहेका छन्।'
व्यवसायीले आफ्नो व्यवसायअनुसार उपयुक्त सफ्टवेयर राख्न सक्नेछन्। जसबापत स्मार्ट मिसन टेक्नोलोजीलाई वार्षिक एक मुष्ट वा मासिक रकम भुक्तानी गर्नुपर्नेछ। कम्पनीले सडकका फुटपाथदेखि ठूला व्यापार व्यवसायका लागि प्रयोग गर्ने सफ्टवेयर बनाइरहेको छ। यस्तो सफ्टवेयर प्रयोग गर्नका लागि व्यवसायीले कम्तीमा २० हजारदेखि एक लाखभन्दा बढीका तिर्नुपर्ने सिइओ पाण्डेले जानकारी दिए।
सिइओ पाण्डेकाअनुसार विद्युतीय बिल बिजकको प्रयोगले व्यापार व्यवसायमा सहयोग पुग्छ। व्यापारीले कुन सामग्री कतिमा किन्ने, के बढी बिक्री भयो, कुनमा बढी नाफा भयो सजिलै सफ्टवेयरले देखाउने र यसले व्यापारमा सजिलो र समयको बचत गराउने उनको भनाइ छ।
'जसरी हामीले हातले लेखेर क्यालकुलेटरमा थिचेर हिसाब गरिरहेका छौं त्यसलाई नै कम्प्युटर फर्ममा लैजादा छिटो छरितो हुन्छ,' उनले भने, 'त्यो गर्दाको फाइदा भनेको नाफा नोक्सान सही निस्कन्छ। रकेर्ड बस्छ। यो अबको आवश्यकता हो। सबै मिलेर व्यवसाय र कारोबारलाई प्रविधिमैत्री बनाउनुपर्छ।'
झण्डै एक दशकदेखि सफ्टवेयरको विकासमा काम गरिरहेको कम्पनीले साना-ठूला व्यापार व्यवसायमा सघाउने गरी सफ्टवेयर बनाइरहेको छ। सरकारले विद्युतीय माध्यमबाट बिल बिजक अनिवार्य लागु गर्ने भएसँगै व्यापारीहरूलाई नेपाली कम्पनीका सफ्टवेयर प्रयोग गर्न उनको अनुरोध छ।
आन्तरिक राजस्व विभागले जेठ २० गते सूचना जारी गर्दै आर्थिक वर्ष २०७७/०७८ वा २०७८/०७९ मा जुनसुकै वस्तु तथा सेवा बिक्रीबाट १० करोडभन्दा बढी रकमको कारोबार गर्नेलाई विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको छ।
तर ग्राहकलाई प्रत्यक्ष रूपमा बिल बिजक जारी नगर्ने बैंक तथा वित्तीय संस्थाले भने यो नियम पालना गर्नुपर्दैन। विभागले यसअघि नै वार्षिक ५ करोडभन्दा बढी रकमको कारोबार गर्ने होटल, रेष्टुरेन्ट, चमेना गृह, इन्टरनेट सेवा प्रदायक तथा वार्षिक १० करोडभन्दा बढीको कारोबार गर्ने डिपार्टमेन्ट स्टोर, मार्ट लगायतलाई पनि यो नियम लागू हुने व्यवस्था गरेको छ।
ई-बिलिङ र ई-इनभ्वाइसका नेपाली सफ्टवेयरको प्रयोग गरेर व्यवसायलाई सजिलो तरिकाले अघि बढाउन उनको अनुरोध छ। नेपालमा आइटी सिस्टम इन्टिग्रेटर र पोइन्ट अफ सेल, बार कोडिङ, सेक्युरिटी, आइडी कार्ड जस्ता सेवा दिने कम्पनी हो।
कम्पनीले विभिन्न सूचना प्रविधि तथा सफ्टवेयर विकासमा काम गर्दै आएको छ। सफ्टवेयर विकासका क्षेत्रमा ई-बिलिङ, ई-इनभ्वाइस, पोइन्ट अफ सेल, अकाउन्ट सिस्टम, मोबाइल एप लगायतका काम गर्दै आइरहेको छ।