सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) सुरू भएको छ।
लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको 'आइसिटी अवार्ड २०२२' को नोमिनेशन गत शुक्रबारदेखि सुरू भएको हो। सन् २०१६ बाट सुरू भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ।
'आइसिटी अवार्ड २०२२' को लागि विभिन्न ११ विधाहरूमा नोमिनेशन खुल्ला गरिएको र अनलाइन नोमिनेशन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए। उनका अनुसार आइसिटी अवार्डमा प्रतिस्पर्धी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गर्न सक्नेछन।
'आइसिटी अवार्ड २०२२' को ग्राण्ड फिनाले मंसिरमा आयोजना हुनेछ। यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढी चरणमका छनौट प्रक्रियालाई अगाडी बढाउने बताएको छ।
१२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रस्तुतीकरण, स्पिड डेटिङ, पब्लिक भोटिङ लगायत उत्कृष्ट ५ को लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ। यस वर्ष २५ भन्दा बढी जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
यस वर्ष नोमिनेशन खुल्ला गरिएको ११ विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इनोभेसन सम्बन्धित विधाहरू छन्।
आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरूलाई दिइने अवार्डका विधाहरूमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन्।
यसैगरी, प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड छन्।
गत चैत र जेष्ठ महिनामा सातौं प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना गर्दै प्रदेश स्तरीय उत्कृष्ट स्टार्टअपहरू छनौट गरिएको समेत आयोजक समितिका अध्यक्ष लम्सालले बताए। ११ विधाबाहेक हरेक प्रदेशका उत्कृष्ट स्टार्टअपहरूले ग्राण्ड फिनाले कार्यक्रममा सम्मान प्राप्त गर्नेछन्। यसैगरी, अन्तर्राष्ट्रियस्तरलाई पनि लक्षित गरेर कही समय पश्चात कुनै एक विधा घोषणा गरिने आयोजकले जनाएको छ।
यसैगरी, काठमाडौंमा सातै प्रदेशबाट छनौट भएको ४० बढी स्टार्टअप र अवार्डबाट तेस्रो चरणमा छनौट हुने दर्जनौं स्टार्टअपहरूको विशेष सेसन 'स्टार्टअप एण्ड आइडिया फेस्ट' काठमाडौंमा पनि सञ्चालन हुनेछ। गत वर्ष आयोजना भएको 'एफवान सफ्ट आइसिटी अवार्ड २०२१' मा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो।
यस वर्षको 'आइसिटी अवार्ड २०२२' विजेताहरूले सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन्। स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन्।
यी हुन् 'आइसिटी अवार्ड २०२२' का ११ विधाहरूः
१. स्टार्टअप आइसिटी अवार्ड
२. प्रडक्ट आइसिटी अवार्ड
३. राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड
४. पायोनियर आइसिटी अवार्ड
५. नेपाली डायस्पोरा आइसिटी अवार्ड
६. आन्टरप्रेनर आइसिटी अवार्ड
७. वुमन आइकन आइसिटी अवार्ड
८. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)
९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइबेट सेक्टर)
१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
११. डिजिटल सर्भिसेस आइसिटी अवार्ड