ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परीक्षा शुल्कको भुक्तानी ई-सेवाबाट गर्न सकिने भएको छ।
हालै ई-सेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परिक्षाको शुल्क अबदेखि ई-सेवामार्फत भुक्तानी गर्न सकिने भएको हो।
अबदेखि आइएलटिएस परीक्षा दिने परिक्षार्थीले आफ्नो ई-सेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्नेछन्। साथै नजिकै रहेका ई-सेवाको ऐजेन्ट नेटवर्क मार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिनेछ।
यो विद्युतीय भुक्तानी प्रविधिले विद्यार्थीहरूलाई सहजता पुग्ने अपेक्षा गरिएको छ। ई-सेवाले हाल ५७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
ई-सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट भुक्तानी, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज टिकट, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
उक्त भुक्तानीमा आकर्षक क्यासब्याक समेत प्रदान गर्दै आएको छ। ई-सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।