नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरूको महसुलमा साउन १ गते (आज)देखि नयाँ दर लागु हुने भएको छ।
नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो।
कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर (पे एज यू गो) अन्तर्गतका भ्वाइस र डेटा सेवा तथा पिएसटिएन, एडिएसएल र एफटिटिएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ।
यसैगरी, साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइएको छ। पहिले उपलब्ध सबै अफरहरूलाई अब उही मूल्यमा थप डेटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ। त्यसैगरी, कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएको कम्पनीको भनाइ छ।
यस अनुसार केही अफरहरूमा उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढी डेटा भोल्युम थप भएका छन्। यस बाहेकका डेटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरूमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ।
उदाहरणको लागि सियुजी १००० मा १० जिबी डेटा प्रदान गर्दै आएकोमा अब ४० जिबी प्रदान गरिएको छ। त्यस्तै, सियुजी १५०० मा २० जिबी डेटा प्रदान गर्दै आएकोमा अब ८० जिबी प्रदान गरिएको छ। यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरूमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।
समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने हुन्छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।