सरकारले साउन १ गते देखि लागू हुने गरी नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ।
सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौ १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।
यसअघि वैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा ६ सय डलससम्मका स्मार्टफोन आयात गर्न पाइने थियो। अहिले यसलाई परिमार्जन गरेर ३ सय डलर बनाइएको हो।
सरकारको यो निर्णयले मोबाइल व्यवसायी झस्किएका छन्। पहिला असार मसान्तसम्म मात्रै आयात प्रतिबन्ध गर्ने सरकारको निर्णय थियो। सोअनुसार व्यवसायी साउनबाट सबै प्रकारका फोन आयात गर्न पाउनेमा ढुक्क थिए। तर तीन सय अमेरिकी डलर माथिका फोनदेखिनै प्रतिबन्ध लगाउँदा मोबाइल व्यवसाय धरासायी बनेको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राले बताए।
सरकारको यो निर्णयले मोबाइल व्यवसाय धरासाय बन्नुका साथै सरकारको राजश्व पनि चुहावट हुने उनको भनाइ छ। उनका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेर मात्रै सरकारले आयात रोक्दा प्रभावकारी हुन्छ।
'एमडिएमएस लागू भएको भए कडाई गर्दा राम्रै हुन्थ्यो। यो लागू नभएकाले झनै चोरी पैठारीको समस्या बढ्छ,' उनले भने।
चोरी पैठारीबाट मोबाइल फोन भित्रिँदा रेमिटेन्स झनै घट्ने उनले बताए। सरकारको यो निर्णयले चिनियाँ मोबाइललाई खासै असर नगरे पनि सामसङ, एप्पल, शाओमीलगायतका कम्पनीलाई भने ठूलो असर गर्ने देखिन्छ।
६ सय अमेरिकी डलर माथिका फोन आयातमा प्रतिबन्ध लगाउँदा फ्ल्यागसिप फोन मात्र बजारमा आउन पाएको थिएन। अहिले तीन सय अमेरिकी डलर माथिको फोनमा प्रतिबन्ध लगाउँदा ४० हजारभन्दा माथिका फोन नेपाली बजारमा नआउने देखिन्छ।
'४० हजार भनेको अहिलेको अवस्थामा इन्ट्री मूल्य नै हो,' उनले भने, 'अरू फोनको प्रयोगकर्ता न्यून छन्।'
सरकारले महँगा फोनलाई नबुझेर विलासिताका रूपमा परिभाषित गरी आयात रोक्न नहुने मल्होत्रा बताउँछन्। 'महँगा फोनमा फिचर र उपयोगिता धेरै भएको हुनाले ग्राहक आकर्षित भएका हुन्,' उनले भने, 'यसलाई विलासिताको रूपमा बुझ्नु हुँदैन।'
विलासिलताका फोन नेपाली बजारमा नआउने उनले बताए। उनकाअनुसार सुन, हिरा जडित फोन नेपाली बजारमा आउँदैनन्।
७० प्रतिशत ग्राहक तीन सय अमेरिकी डलर माथिका फोनको रहेको मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष अर्जनु चालिसे बताउँछन्।
अहिलेका अधिकांश युवाहरूले कार्यालयका कतिपय काम मोबाइलबाट गर्ने हुनाले अहिले यो मूल्यको फोन आवश्यक रहेको उनको भनाइ छ।उनका अनुसार तीन सय अमेरिकी डलर मूल्यका फोन नआउँदा नेपाली बजारमा फोनको व्यापार घट्छ।