एनसेलले गएको पाँच वर्षमा सरकारलाई विभिन्न कर तथा शुल्कहरू बापत एक खर्ब ४४ अर्ब रुपैयाँ तिरेको छ।
कम्पनीले हालै सार्वजनिक गरेको नेशनल कन्ट्रिब्युसन रिपोर्टका अनुसार आर्थिक वर्ष २०७७/७८ मात्र यस्तो कर तथा शुल्क बापत उसले २१ अर्ब ७५ करोड रुपैयाँ दाखिला गरेको छ।
पाँच वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा एनसेलले ३४ अर्ब ५६ करोड रुपैयाँ तिरेको छ जुन सरकारको कुल राजस्व संकलनको ४.४ प्रतिशत हो।
सेवा तथा सुविधाहरूको शुल्कमा आएको गिरावट र कोभिड–१९ महामारीको असर लगायतका कारणले गर्दा कम्पनीको आयका साथै कर पनि सन् २०२० पछि कमी आएको कम्पनीले जनाएको छ।
एनसेलले दाखिला गरेको कर तथा शुल्क ३२ अर्ब ६० करोड रुपैयाँले आर्थिक वर्ष २०७६/७७ मा सरकारको कुल राजस्व संकलनमा ४.३ प्रतिशत योगदान गरेको थियो।
उक्त रिपोर्ट अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा २८ अर्ब २३ करोड रुपैयाँ र आर्थिक वर्ष २०७३/७४ मा २६ अर्ब ८६ करोड रुपैयाँ तिरेको थियो।
राजस्व दाखिलाका हिसाबले एनसेल धेरै कर तिर्ने कम्पनीमध्ये एक रहेको छ भने गत आर्थिक वर्ष २०७८/७९ मा एनसेल धेरै आयकर तिर्ने कम्पनीको सूचीमा तेस्रो स्थानमा रहेको बताएको छ।
आर्थिक वर्ष २०७७/७८ मा एनसेलले आफ्नो व्यवसायबाट कुल ग्राहस्थ उत्पादनमा १.४ प्रतिशत योगदान गरेको कम्पनीको दाबी छ। यो योगदान आर्थिक वर्ष २०७३/७४ मा ३ प्रतिशत रहेको थियो।
त्यस्तै, प्रत्यक्ष र अप्रत्यक्ष गरि कम्पनीले कुल २४ हजार नाै सय ४१ जनालाई रोजगारी प्रदान गरेको कम्पनीको जनाएको छ।
कम्पनीकाअनुसार दीगो विकास लक्ष्य प्राप्तिमा सरकारलाई सघाउँदै व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विविध सामाजिक परियोजनाहरूमा १ अर्ब ६५ करोड रुपैयाँ लगानी गरिसकेको छ।