यदी तपाई टिकटक प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो 'फिड'मा आएको भिडिओ झुक्किएर गतल बटन थिच्दा हराएको पीडा थाहा हुनुपर्छ। त्यो भिडिओ फेरि हेर्न मन हुँदाहुँदै पनि हेर्न नपाउँदाको तनाव महसुस गर्नुभएको होला।
केही समय अघिसम्म यस्तो परिस्थितिमा प्रयोगकर्तासँग कुनै विकल्प थिएन। तर टिकटकले गत महिना मात्रै प्रयोगकर्ताको सुविधाको लागि हेरिसकेको भिडिओ खोजेर पुनः हेर्न सघाउन नयाँ फिचर सार्वजनिक गरेको छ।
अमेरिकी प्रविधि वेबसाइट द भर्जका अनुसार टिकटकले 'वाच हिस्ट्री' फिचर सार्वजनिक गरेको हो, जसको सहायतामा प्रयोगकर्ताले आफूले केहि समय अघि हेरेको भिडिओ खोजेर फेरि हेर्न सक्छन्। यो फिचरको मद्दतमा प्रयोगकर्ताले सात दिन अघिसम्म हेरेको भिडिओ फेरि हेर्न मिल्छ। प्रयोगकर्ताले चाहे आफ्नो वाच हिस्ट्री डिलिट पनि गर्न सक्छन्।
यसरी हेर्नुहोस् टिकटकको वाच हिस्ट्रीः
- यसको लागि सुरूमा टिकटक एप खोलेर आफ्नो प्रोफाइलमा जानुपर्ने हुन्छ।
- प्रोफाइल पृष्ठको दायाँपट्टी सबैभन्दा माथि तीनवटा धर्को जस्तो हुन्छ। त्यसलाई छनौट गर्नुहोस्।
- यसपछि 'सेटिङ्स एन्ड प्राइभेसी' भन्ने विकल्प रोज्नुहोस्। यसैभित्र 'वाच हिस्ट्री' हुन्छ।
यति गरेपछि तपाईंले सात दिन अघिसम्म हेर्नुभएको सबै टिकटक भिडिओहरू वाच हिस्ट्री पृष्ठबाट हेर्न सकिन्छ। तीमध्ये तपाईंले पुनः हेर्न खोज्नुभएको भिडिओ छनौट गरि हेर्न सक्नुहुन्छ।
तपाईंले आफ्नो वाच हिस्ट्री बन्द गर्न वा डिलिट गर्न चाहनुहुन्छ भने त्यो पनि सम्भव छ। यसको लागि वाच हिस्ट्रीको पृष्ठको सबैभन्दा माथि दायाँपट्टी रहेको सेटिङ्स आइकन चयन गर्नुपर्ने हुन्छ। यहाँ वाच हिस्ट्री बन्द गर्ने विकल्प दिइएको हुन्छ। यसबाहेक हिस्ट्री मेटाउने विकल्प 'क्लियर हिस्ट्री' पनि दिइएको हुन्छ।
टिकटकले तपाईंले खोज्नुभएका र हेर्नु भएको भिडिओको आधारमा भविष्यमा तपाईंको फिडमा नयाँ भिडिओहरू देखाउँछ। टिकटकको अल्गोरिदम यसैगरी चल्ने द भर्जमा उल्लेख छ।