ह्वाट्सएपले प्रयोगकर्ताको सुविधाको लागि आफ्नो फिचर अपग्रेड गरेको छ। अब प्रयोगकर्ताहरूले ह्वाट्सएपमा पठाएको कुनै पनि मेसेज दुई दिनभित्र डिलिट गर्न मिल्ने भएको हो।
अमेरिकी प्रविधि वेबसाइट द भर्जका अनुसार कम्पनीले उक्त फिचर अपग्रेडबारे सोमबार घोषणा गरेको हो। फिचर अपग्रेड गर्नको लागि प्रयोगकर्ताले एप भने अपडेट गर्नुपर्ने हुन्छ।
यसभन्दा अघि पठाएको मेसेज डिलिट गर्नुपरे एक घण्टाभित्रै गर्नुपर्थ्यो। तर एक घण्टापछि मेसेज डिलिट गर्न मिल्दैनथ्यो। अब भने मेसेज दुई दिन १२ घण्टाभित्र डिलिट गर्न मिल्ने भएको हो।
कसरी गर्ने मेसेज डिलिट?
ह्वाटस्एपमा तपाईले कसैलाई झुकेर वा टाइप गर्दा गलत मेसेज पठाउनु भयो भने त्यसलाई डिलिट गर्न मिल्छ। यसको लागि सुरूमा पठाएको मेसेज चयन गर्नुपर्ने हुन्छ।
डिलिट गर्नुपर्ने मेसेजमा ट्याप गरेर एकैछिन थिचेपछि स्क्रिनको सबैभन्दा माथि रिसाइकल बिनको आइकन देखिन्छ। यसलाई थिच्नुपर्छ। यति गरेपछि 'डिलिट फर मी', 'क्यान्सिल' र 'डिलिट फर एभ्रीवान' विकल्पहरू देखाउँछ।
'डिलिट फर मी' गर्नुभयो भने तपाईले मेसेज आफ्नोलागि मात्रै डिलिट गर्नुहुन्छ। एभ्रीवान विकल्प रोज्नुभयो भने तपाईले जसलाई मेसेज पठाउनु भएको हो ती व्यक्तिको च्याटबक्सबाट पनि पठाइएको मेसेज डिलिट हुन्छ।
ह्वाट्सएपले पछिल्लो समय प्रयोगकर्ताहरूको सहजीकरण र आवश्यकताअनुसार फिचरहरू थप गर्दैछ। साथै कम्पनीले एपमा पहिल्यै भएका फिचरहरूलाई पनि अपग्रेड गर्दैछ।