नेटफ्लिक्सले आफ्नो पोर्टफोलियो बलियो बनाउन पछिल्लो समय गेमिङ क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ।
फिल्म/सिरिज स्ट्रिमिङ सेवा दिने नेटफ्लिक्समा विभिन्न गेम (खेल)हरू पनि खेल्न सकिन्छ। यसैको लागि कम्पनीले अन्य गेमिङ कम्पनीहरू समेत खरिद गरेको छ।
तर नेटफ्लिक्सले सोचेजस्तो यसको गेमिङ क्षेत्रमा भने प्रयोगकर्ताहरूको रूचि देखिएको छैन। सिएनबिसीमा हालै प्रकाशित रिपोर्टअनुसार नेटफ्लिक्सका कुल प्रयोगकर्तामध्ये एक प्रतिशतभन्दा कमले मात्रै नेटफ्लिक्सको गेम डाउनलोड गरेका छन्।
गत नोभेम्बरमा नेटफ्लिक्सले मोबाइल गेमिङबारे घोषणा गरेको थियो। सो समयदेखि हालसम्म कुल दुई करोड ३३ लाख पटक नेटफ्लिक्समा गेम डाउनलोड भएको छ। तर नेटफ्लिक्स गेमको दैनिक सक्रिय प्रयोगकर्ता भने जम्मा १७ लाख मात्र छ।
प्रविधि वेबसाइट द भर्जका अनुसार संसारभर नेटफ्लिक्सको कुल २२ करोड १० लाख बढी सदस्य छन्।
सुरूका दिन नेटफ्लिक्सको गेमिङ क्षेत्रमा जम्मा पाँच वटा अनलाइन गेमहरू थिए। तर हाल करिब दुई दर्जन गेम समावेश भइसकेको छ। कम्पनीले सन् २०२२ को अन्त्यसम्ममा ५० वटा गेम समावेश गर्ने योजना बनाएको छ।