सामाजिक सञ्जालमध्ये यतिबेला टिकटकको प्रयोग बढ्दो छ। यसमा प्रयोगकर्ताले आफूलाई मनपरेको गीत-संगीतमा नाचगान गरेर, कुनै फिल्म/शृङ्खलाको संवादमा अभिनय गरेको वा आफ्नै आवाजमा भिडिओ खिचेर पोस्ट गर्न मिल्छ। टिकटकमा अचेल बालबालिकादेखि वृद्धसम्म सक्रिय छन्।
प्रयोगर्ताले भिडिओ फिल्टर राखेर वा नराखेर बनाउन मिल्छ। वा, फोटोहरूको मात्रै पनि भिडिओ बनाउन सकिन्छ। तर यसभन्दा भिन्न टिकटकले प्रयोकगकर्ताको लागि ‘टेम्प्लेट’ फिचर दिएको छ।
टेम्प्लेटको मद्दतमा प्रयोगकर्ताले आफ्नो फोटोहरूलाई जीवन्त बनाउन सक्छन्। यसबाहेक फोटोको सम्पादन पनि आकर्षक ढंगमा हुन्छ। भिडिओ पनि राम्रो बन्छ।
टिकटकले भिडिओ सेयरिङ अनुभवलाई बढावा दिन सन् २०२१ अगस्ट मै टेम्प्लेट फिचर सार्वजनिक गरेको हो। तर धेरै प्रयोगकर्तालाई अझै पनि यसबारे थाहा नहुन सक्छ।
यसरी प्रयोग गर्नुस् टिकटकको टेम्प्लेटः
- नयाँ भिडियो सुरू गर्न पहिले मोबाइल स्क्रिनको सबैभन्दा तल रहेको प्लस साइनमा ट्याप गर्नुहोस्।
- यसमा देखिएको टेम्प्लेट विकल्पमा थिच्नुहोस्।
- यति गरेपछि स्क्रिनमा टेम्प्लेटहरू देखिन्छ। बायाँ स्वाइप गर्दै जाँदा थप टेम्प्लेटहरू आउँछ। टेम्प्लेटअनुसार तपाईले कतिवटा फोटोको भिडिओ बनाउन मिल्छ भन्ने स्क्रिन मै देखाउँछ।
- आफूलाई राम्रो लागेको टेम्प्लेट चयन गरेपछि फोटोहरू पनि चयन गर्नुहोस्।
- फोटो छनौट सकेपछि स्क्रिनको सबैभन्दा तल देखिने ‘ओके’मा थिच्नुहोस्। यति गरेपछि टिकटकले तपाईको फोटोहरूको भिडिओ बनाइदिन्छ।
- यसपछि देखाइने स्क्रिनबाट बनाइएको भिडिओलाई थप सम्पादन गर्न सकिन्छ। जस्तै, स्टिकरहरू राख्ने, आफ्नो आवाज रेकर्ड गरेर राख्ने वा भिडिओको फिल्टर परिवर्तन गर्न समेत मिल्छ।
- अन्तिममा तपाईलाई टेम्प्लेटबाट बनेको भिडिओ र सम्पादन चित्न बुझेपछि भिडिओ पोस्ट गर्न सक्नुहुन्छ।