'मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम' (एमडिएमएस) को संयुक्त कार्यशाला गोष्ठी साउन २६ गते सम्पन्न भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसिएसनद्वारा काठमाडौंको सोल्टी होटलमा उक्त कार्याक्रम सम्पन्न गरेको हो।
नेपालमा गैरकानुनी रूपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो भदौ ३० गतेबाट एमडिएमएस सुरू गर्ने निर्णय सहित उक्त गोष्ठी सम्पन्न भएको हो।
एमडिएमएस प्रणाली अनधिकृत रूपमा मोबाईल फोनहरू नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो।
मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्राले अहिलेको समयमा यसलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय वस्तुको रूपमा मोबाइल फोन मानिएकाले तर हाल पछिल्लो समय सरकारले मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दुःख व्यक्त गर्दै सरकारको सो कार्यप्रति आपत्ति जनाएका थिए।
सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्देश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजेपनि गैरकानुनी मार्गबाट भन्सार छलीका फोनहरू लाखौंको संख्यामा भित्रिदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अर्बौ राजस्वसमेत गुमाउनु परेको तथ्यलाई समेत उनले प्रष्ट पारे।
गैरकानुनी रूपमा भित्रिने फोनहरूमध्ये चोरीका, रिफर्बिस फोनहरू समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरू ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुको कटौतीसम्म गर्नुपर्ने वाध्यताले हजारौंको संख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको तथ्य प्रष्ट गरे ।
मोबाइल फोनको व्यवसायमा देखिएको यो अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडिएमएस लागू गर्न अब ढिला गर्न नहुने कुरा पनि अध्यक्ष मलहोत्राले राखे।
कार्यक्रममा एमपिआइएका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० गतेदेखि औपचारिक रूपमा एमडिएमएस शुरुवात हुने र यसको दुईदेखि तीन महिनामा सतःप्रतिशत लागू हुने बताए।
उनका अनुसार दुई–तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गरिएको र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाईल चल्ने छैन।
यो योजनाबाट अर्थमन्त्रालयको राजस्व वृद्विमा ठूलो योगदान पुर्याउने उनले बताए।
सोही कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले एमडिएमएसको महत्व, विशेषता र प्रविधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनका बारेमा महत्वपूर्ण जानकारी दिए।