कुनै पनि आधिकारिक काम वा व्यक्तिगत काम विशेष सूचना आधानप्रधान गर्ने राम्रो माध्यम बनेको छ जिमेल। यो गुगलद्वारा प्रदान गरिएको नि:शुल्क इमेल सेवा हो।
सामन्यतया तपाईले जिमेलमार्फत पठाउनु भएको सन्देश (इमेल) पाउने व्यक्तिको जिमेलमा सुरक्षित बस्छ। ती इमेलहरू पाउने व्यक्तिले अरू जिमेल प्रयोगकर्तालाई फर्वार्ड गर्न (पठाउन) मिल्छ। इमेलमा भएका सन्देशहरूको प्रतिलिपि समेत राख्न सक्छन्।
तर यदि तपाईले कसैलाई इमेल पठाउँदा 'कन्फिडेन्सियल मोड'मा पठाउनुभयो भने पाउने व्यक्तिले इमेल फर्वार्ड वा त्यसको प्रतिलिपी राख्न सक्दैनन्।
गुगलले सन् २०१८ मा जिमेलमा यो कन्फिडेन्सियल मोड अर्थात् गोप्य मोड दिएको हो। यो मोडको प्रयोगमा तपाईले पठाएको सन्देश वा इमेल केही समय पछि पाउने व्यक्तिको जिमेलबाट पनि हट्छ।
तपाईले यो कन्फिडेन्सियल मोड डेस्कटप वा मोबाइलको जिमेल एपबाट प्रयोग गर्न सक्नुहुन्छ। डेस्कटप प्रयोग गर्दा यसरी पठाउनुस् कन्फिडेन्सियल मोडमा इमेलः
- सुरूमा जिमेल पृष्ठबाट 'कम्पोस इमेल' मा जानुहोस्।
- यसपछि तपाईले सन्देश लेख्न खाली ठाउँ पाउनुहुन्छ। त्यसको तल भागमा घडी जस्तो आइकन देख्न सक्नुहुन्छ। आइकनमा माउसको कर्सर पुगेसँगै 'टुगल कन्फिडेन्सियल मोड' देख्न सकिन्छ। त्यसमा क्लिक गर्नुहोस्।
- अब आउने डाइलग बक्सबाट तपाईले इमेल कति समयको लागि पठाउन चाहनु भएको हो, त्यो समय राख्न मिल्छ। तपाईले कम्तिमा एक दिनदेखि पाँच वर्षको अवधि राख्न सक्नुहुन्छ।
- इमेल पाउने व्यक्तिले इमेलसँगै कन्फिडेन्सियल मोडमा इमेल पाएको भन्ने सन्देश पाउछन्।
जिमेल एपबाट यसरी पठाउनुस् कन्फिडेन्सियल मोडमा इमेलः
- कम्पोस इमेल गर्नु भएपछि स्क्रिनको दायाँपट्टी सबैभन्दा माथि तीन वटा थोप्लाको आइकन देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुहोस्।
- यसमा 'कन्फिडेन्सियल मोड' विकल्प देखिन्छ। त्यसलाई चयन गर्नुहोस्। समय अवधि छनोट गरेर अब तपाईले गोप्य इमेल पठाउन सक्नुहुन्छ।