चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) मा तीन लाख ३३ हजार मोबाइल सेट आयात भएको छ।
सो परिमाणको फोन आयातका लागि देशबाट दुई अर्ब ७१ करोड ६२ लाख रूपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
यो गत आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिको तुलनामा आधाले कम हो।
गत वर्ष साउन महिनामा चार अर्ब ८२ करोड ६७ लाख मूल्य बराबरको छ लाख ६७ हजार मोबाइल सेट भित्रिएको थियो।
सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँग मोबाइल आयातमा कडाइ गरेको छ।
वैशाख १३ गतेदेखि नै सरकारले असार मसान्तसम्मका लागि छ सय अमेरकी डलरसम्मका फोन आयातमा कडाइ गरेको थियो।
पछि आयातलाई परिमार्जन गर्दै भदौ १४ गतेसम्मका लागि तीन सय अमेरिकी डलरसम्मको फोन आयातमा कडाइ गरेको छ।
यसर्थ वैशाखदेखि नै महँगा स्मार्टफोन नेपाली बजारमा भित्रिन पाएका छैनन्। पछिल्लो समय अधिकांश ग्राहकको रोजाइ महँगा फोनमा छ। ग्राहकको रोजाइ अनुसारको फोन ल्याउन नपाएकाले मोबाइलको आयात घटेको हो।
साउन महिनामा भित्रिएका कुल फोनमध्ये दुई अर्ब ५७ करोड ४३ लाख मूल्य बराबरको एक लाख ७६ हजार स्मार्टफोन छन्।
त्यस्तै, १४ करोड १९ लाख मूल्य बराबरको एक लाख ५७ हजार बारफोन छन्।
भन्सार विभागको तथ्यांक हेर्दा साउन महिनामा विभिन्न ४० देशबाट मोबाइल सेट भित्रिएको छ।
सबैभन्दा बढी चीनबाट दुई अर्ब १० करोड मूल्य बराबरको दुई लाख ८५ हजार सेट आएको छ। त्यस्तै, भारतबाट ५० करोड मूल्य बराबरको ३८ हजार सेट भित्रिएको छ। अन्य देशबाट भने थोरै मात्रामा मोबाइल सेट आएको छ।
विदेशबाट उपहार स्वरूप आउने फोनको तथ्यांक भने भन्सार विभागमा उपलब्ध छैन।