युवा पुस्तामाझ लोकप्रिय सामाजिक सञ्जाल स्न्यापच्याटको वेब संस्करण सार्वजनिक भएको छ। कम्पनीले बिहीबार संसारको सबै राष्ट्रमा एकैपटक 'स्न्यापच्याट फर वेब' सार्वजनिक गरेको हो।
प्रविधि वेबसाइट टेकक्रन्चका अनुसार यसभन्दा अघि स्न्यापच्याटको वेब संस्करण अर्थात् डेस्कटप भर्सन अमेरिका, बेलायत, क्यानेडा, अस्ट्रेलिया र न्यू जिल्यान्डमा मात्रै उपलब्ध थियो। यी राष्ट्रहरूमा पनि स्न्यापच्याटको स्न्यापच्याट प्लस सब्स्क्राइबर प्रयोग गर्नेले प्रयोगकर्ताहरूले मात्रै वेब संस्करणमा स्न्यापच्याट चलाउन पाउँथे। अब भने हरेक प्रकारका प्रयोगकर्ताले यसको वेब संस्करण चलाउन पाउने भएका हुन्।
मोबाइल संस्करणमा जस्तै अब प्रयोगकर्ताहरूले आफ्नो ल्यापटप वा डेस्कटपबाटै स्न्यापच्याट प्रयोग गर्न सक्छन्। यसैबाट मेसेज र स्न्यापहरू पठाउन मिल्छ।
साथै, अडिओ र भिडिओ कल पनि गर्न सक्छन्। वेब संस्करणमा च्याट मेसेज रियाक्सन पनि समेटिएको छ भने फोटो/भिडिओ खिच्न १० वटाभन्दा बढी फिल्टर लेन्सहरू दिइएको छ।
वेब संस्करणको स्न्यापच्याट लग-इन गर्नु अघि प्रयोगकर्ताहरूले आफ्नो फोनमार्फत टू-स्टेप भेरिफिकेसन भने गर्नुपर्ने हुन्छ। यो भनेको वेबसाइटमा स्न्यापच्याट लग-इन गर्न खोज्नु भएपछि स्न्यापच्याटले तपाईंको फोनमा एउटा मेसेज पठाउँछ, जसमा वेबमार्फत लग-इन गर्न खोजिएको हो वा होइन भन्ने सोधिएको हुन्छ। हो भन्ने विकल्पमा थिच्नु भएपछि मात्रै वेब संस्करणमा तपाईंको स्न्यापच्याट खुल्छ।
स्न्यापच्याटमा भएको कुराकानीहरू (च्याट) २४ घण्टापछि आफै हट्छ। इच्छा लागे मेसेजलाई 'ट्याप' गरेर सेभ पनि गर्न मिल्छ।च्याट पृष्ठको स्क्रिनसट लिएको खण्डमा अर्का प्रयोगकर्तालाई सन्देश पनि जान्छ।
गोप्य कुराकानी गर्न र विभिन्न फिल्टरको प्रयोगमा राम्रा फोटा/भिडिओ खिच्न अचेल युवा पुस्तामाझ स्न्यापच्याट प्रख्यात सामाजिक सञ्जालको माध्यम बनेको छ।