भाट–भटेनी सुपर मार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ।
उक्त नेपाल पे क्युआरलाई ग्राहकले नेपाल पे को सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट अथवा कनेक्ट आइपिएसमार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्।
भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा एमओसिओ फोकसवान् सोलुसन्स्को सहकार्यमा सुरू गरिएको बताइएको छ।
उक्त स्टोरमा डाइनामिक नेपाल पे क्युआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन्।
ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेटबाट नेपाल पे चल्ने यकिन गर्न उक्त एपको क्युआर स्क्यान स्क्रीनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।
हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्मृद्धि फाइनान्स, सेल पे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइलएपमा उपलब्ध रहेको छ।
नेपाल पे क्युआरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत हालसम्म स्टाटिक क्युआर, डाइनामिक क्युआर, क्युआर गेटवे र क्युआर पिओएसमार्फत ७० हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध भइसकेका छन्।
नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको बताइएको छ।