ई-सेवाले सञ्चालन गरेको 'बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ' योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छन्।
उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क ई-सेवामार्फत भुक्तानी गरेका थिए।
ई-सेवाले बीमितहरूलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले ५ जेठदेखि ५ भदौसम्म लखपति योजना सञ्चालन गरेको थियो।
पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेल र इन्स्योरेन्स शाखा कार्यालय इलामलाई समेत २०/२० हजार रुपैयाँ नगद उपलब्ध गराइएको कम्पनीले बताएको छ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरेर ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले विजेताहरूलाई नगद हस्तान्तरण गरेका हुन्।
लखपति योजनाभर ई-सेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक/एक हजार रुपैयाँ पाएका छन् ।
ई-सेवाले हरेक हप्ता गोलाप्रथामार्फत साप्ताहिक विजेता चयन गर्दै आएको थियो।
विजेतालाई नगद हस्तान्तरण गर्दै सापकोटाले बीमितहरुले घरमै बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन गर्न यो योजना सञ्चालन गरेको बताए।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स्का आईटी प्रमुख शरदचन्द्र प्याकुरेलले ई-सेवाले बीमा क्षेत्रको भुक्तानीलाई पनि अनलाइन मार्फत गर्न प्रोत्साहन गरिरहेको भन्दै बीमा क्षेत्रमा थप सहजता गराएको प्रतिक्रिया दिए।
योजना अवधिभर ई-सेवामार्फत ४ अर्ब बढीको कारोबार भएको उनले जानकारी दिए।
ई-सेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५लाख र आइओस् मोबाईलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्स्मार्फत सेवा प्रदान गरिरहेको छ।