वर्डप्रेस नेपालले 'वर्डक्याम्प नेपाल २०२२' आयोजना गर्ने भएको छ। वर्डप्रेस नेपालले चितवन जिल्लाको भरतपुरमा उक्त बृहत् कार्यक्रम आयोजना गर्ने भएको हो।
वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ। वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो।
विश्वका ६५ देशका तीन सय ७९ शहरहरूमा एक हजार एक सय २४ वर्डक्याम्पहरू सम्पन्न भइसकेका छन्। नेपालमा पनि हालसम्म काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल गरी १४ वटा वर्डक्याम्प सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
चितवनमा आयोजना हुन गइरहेको कार्यक्रम वर्डप्रेस सम्बन्धी सबैभन्दा ठूलो कार्यक्रमको रूपमा हुने संस्थाले जनाएको छ। संस्थाका अनुसार चितवन गार्डेन रिसोर्टमा कार्तिक १९ र २० गते आयोजना हुने वर्डक्याम्पमा वर्डप्रेस डेभलपर्स, प्रयोगकर्ता र यसप्रति चासो राख्ने पाँच सयभन्दा बढीले हालसम्म सहभागिताका लागि नाम दर्ता गराएका छन्।
'दुई दिने वर्डक्याम्पलाई हामीले इभेन्ट डे र कन्ट्व्यिसन डे भनेर दुई भागमा विभाजित गरेका छौं। यसक्रममा आपसी जनसम्पर्क विस्तार र सहभागी बीच अनुभवहरूको आदानप्रदान हुनेछ,' कार्यक्रम आयोजनाबारे संस्थाले एक विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्।
संस्थाका अनुसार सहभागीहरूले कार्यक्रममा उपलब्धिमुलक ज्ञान र जानकारीहरू विश्वस्तरका वक्ताहरूबाट प्राप्त गर्नेछन्। सहभागीहरू बीच एक आपसमा सौहार्द, मित्रवत र खुला हृदयका साथ प्रस्तुत भई वर्डक्याम्प नेपाल अगाडि बढाउनका लागि संस्थाले आचारसंहिता पनि बनाएको छ।
२५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवी वक्ताहरूले विभिन्न शीर्षकमा प्रस्तुति दिने, जनसम्पर्क विस्तार र अवसरहरूको आदानप्रदान वर्डप्रेस कार्यशाला, वर्डप्रेसको विकासका लागि योगदान विज्ञहरूसँग प्रत्यक्ष सम्पर्क र विभिन्न सत्र यो क्याम्पका मुख आकर्षण हुन्।