सन् २०२२ को तेस्रो त्रैमासमा नेटफ्लिक्सको सब्स्क्राइबर २४ लाखले बढेको छ। करिब ६ महिनापछि नेटफ्लिक्सको सब्स्क्राइबर बढेको हो।
यसभन्दा अघि सन् २०२२ को पहिलो त्रैमासमा नेटफ्लिक्सको २० लाख बढी र दोस्रो त्रैमासमा करिब १० लाख बढी सब्स्क्राइबर घटेको थियो।
तेस्रो त्रैमासमा सब्स्क्राइबर संख्या बढेसँगै नेटफ्लिक्सले यस वर्षको चौथो त्रैमासमा ४५ लाख सब्स्क्राइबर बढ्ने अपेक्षा राखेको छ। तेस्रो त्रैमासमा अमेरिकाभन्दा बाहिरी मुलुकका सब्स्क्राइबर बढेको द न्यू योर्क टाइम्समा उल्लेख छ।
सब्स्क्राइबर वृद्धिसँगै नेटफ्लिक्सले उक्त त्रैमासमा ७.९ अमेरिकी डलर अर्थात् करिब ६ करोड दुई लाख ५५ हजार रूपैयाँको राजस्व संकलन गरेको छ। यो भनेको सन् २०२१ को तेस्रो त्रैमासको तुलनामा ६ प्रतिशतले बढी हो।
सन् २०२२ को पहिलो दुई त्रैमासमा सब्स्क्राइबर घटेको र राजस्व संकलनमा समेत कमि आएकै कारण नेटफ्लिक्सले गत मेमा १५० जना कर्मचारीहरू कटौती गरेको थियो।
नेटफ्लिक्सको सब्स्क्राइबर घट्दै गर्दा गत सातादेखि कम्पनीले आफ्नो प्लेटफर्ममा विज्ञापनमा आधारित भिडिओ पनि राख्न थालेको छ। यसो हुदाँ प्रयोगकर्ता/सब्स्क्राइबरले कम शुल्कमा नेटफ्लिक्सका भिडिओ/फिल्महरू हेर्न सक्छन्।
हालै नेटफ्लिक्सले एउटै अकाउन्ट धेरै उपकरणबाट प्रयोग हुने विषयलाई मध्यनजर गर्दै 'एक्स्ट्रा फी' लगाउनेबारे अध्ययन समेत गर्दैछ। उक्त प्रणाली लागू भएपछि एउटा नेटफ्लिक्स अकाउन्टको पासवर्ड सेयर हुँदा सब्स्क्रिप्सन शुल्कभन्दा थप तिर्नुपर्ने हुन्छ। कम्पनीले यसबारे र कति शुल्क थप बुझाउनु पर्छ भन्नेबारे खुलाएको छैन।