एप्पलले पछिल्लो समय सार्वजनिक गरेको आइफोन १४ प्लसको उत्पादन घटाउने भएको छ। कम्पनीले आइफोन १४ प्लसको अपेक्षित बजार नपाएपछि उत्पादन कटौती गर्ने भएको हो।
प्रविधि वेबसाइट द इन्फर्मेसनले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार एप्पलले उक्त निर्णय लिएको हो। कम्पनीले गत सेप्टेम्बर पहिलो सातामा मात्रै आइफोन १४ प्लससँगै आइफोन १४ को सिरिजमा आइफोन १४, आइफोन १४ प्रो र आइफोन प्रो म्याक्स सार्वजनिक गरेको हो। तर यी उपकरणहरूले हालसम्म अपेक्षित बजार पाउन सकेको छैन।
रिपोर्ट अनुसार एप्पलले आफ्नो एक एसेम्बलर पार्टनरलाई आइफोन १४ प्लसको उत्पादन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। साथै, कम्पनीले चीनमा रहेको आफ्नो दुई वटा सप्लायर्सलाई आइफोन १४ प्लसको उत्पादन ७० र ९० प्रतिसतले घटाउन निर्देशन दिएको छ।
ब्लुम्बर्गको एक रिपोर्ट अनुसार एप्पलले गत महिना नै आइफोन १४ को उत्पादन घटाउने निर्णय लिएको थियो। हाल विश्वभर रहेको आर्थिक मन्दीका कारण पनि बजारमा स्मार्टफोन लगायत उपकरणहरूको मागमा कमि देखिएको हो। विभिन्न प्रविधि कम्पनीहरूमा यसको प्रत्यक्ष असर देखिएको छ।
एप्पलले आइफोन १४ प्लसको उत्पादन कटौतीबारे हालसम्म कुनै प्रतिक्रिया वा आधिकारिक विज्ञप्ति भने सार्वजनिक गरेको छैन।