सामाजिक सञ्जाल ट्विटरले आफ्नो प्रयोगकर्ता प्रमाणिकरण (भेरिफिकेसन) प्रक्रियालाई परिमार्जन गर्ने भएको छ।
एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारी हटाएपछि उनले ट्विटरको प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको बताएका हुन्।
‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ’, मस्कले आफ्नो ट्वीटमा भनेका छन्। यद्यपि उनले के कस्ता फिचरहरू परिवर्तन हुनेबारे स्पष्ट पारेका छैनन्।
ट्विटरले आफ्नो खाता प्रमाणित गर्ने नीलो चेक मार्कको लागि शुल्क लिने तयारी गरिरहेको टेक्नोलोजी न्यूजलेटर प्लेटफर्मरले दाबी गरेको छ।
आइतबार यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै सार्वजनिक भएको एक रिपोर्ट अनुसार प्रयोगकर्ताहरूले प्रति महिना ४.९९ अमेरिकी डलर मा ट्विटर ब्लूको सदस्यता लिनुपर्नेछ वा परियोजना अगाडि बढेमा तिनीहरूको भेरिफाइड ब्लु टिक गुमाउनु पर्नेछ।
प्लेटफर्मरका अनुसार भेरिफिकेसन ट्विटर ब्लूकै एक हिस्सा हुने सम्भावना पनि छ ।
हालसम्म टेस्ला इंकका सीईओसमेत रहेका मस्कले अन्तिम निर्णय भने गरेका छैनन्।
सामाचार एजेन्सी रोयटर्सले प्लेटफर्मरलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार ट्विटर अकाउन्ट होल्डरको खातालाई भेरिफाइ गरी 'ब्लू टिक' दिँदा शुल्क लिने उनको योजना छ।
ट्विटर ब्लूका लागि ट्विटर सब्सक्रिप्सन शुल्क बढ्न सक्छ। प्रयोगकर्ताको भेरिफिकेसन पनि यसैद्वारा गरिन्छ। ट्विटर ब्लूलाई गत वर्ष जुनमा लन्च गरिएको थियो ।
ट्विटरले मासिक सदस्यताको आधारमा यसअघि केही सिमित मुलुकका व्यक्तिलाई ट्वीट सम्पादन गर्ने सुविधा सहित प्रिमियम सुविधा सुरू गरेको थियो।