फेसबुकको प्यारेन्ट (मातृ) कम्पनी मेटाले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ। मेटाले एकैपटक ११ हजार कर्मचारी कटौती गर्ने भएको हो।
विश्वभर छाएको आर्थिक मन्दी, बढ्दो ब्याज दर एवम् अन्य आर्थिक संकटका कारण थुप्रै प्राविधिक कम्पनीहरूले कर्मचारी कटौती गरिरहेको छ। यही समय मेटाले पनि एकैपटक ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको हो। यसो भयो भने सबैभन्दा धेरै कर्मचारी कटौती गर्ने टेक कम्पनी मेटा बन्नेछ।
सिएनएनका अनुसार गत बुधबार मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरवर्गले आफ्नो कर्मचारीहरूको लागि ब्लग लेखेका छन्। ब्लगमा भनेका छन्, 'म आज तपाईंहरूलाई मेटाको ऐतिहासिक परिवर्तनबारे बताउँदै छु। मैले मेरो टोलीको आकार लगभग १३ प्रतिशतले घटाउने निर्णय गरेको छु। हाम्रा ११ सय भन्दा बढी प्रतिभाशाली कर्मचारीहरू विदाई गर्दैछु।'
उनले थप भनेका छन्, 'मलाई थाहा छ यो सबैका लागि गाह्रो छ। यस निर्णयले प्रभावित हरेक व्यक्तिप्रति म माफी माग्न चाहन्छु।'
सन् २००४ मा फेसबुकको स्थापना भएदेखि कम्पनीले ठूलो संख्यामा कर्मचारी नियुक्त गरेको थियो। सन् २०२२ को सेप्टेम्बर अन्तिमसम्ममा मात्रै कुल ८७ हजार ३१४ जना कर्मचारी कम्पनीमा कार्यरत थिए। तर गत बुधबार कम्पनीले कर्मचारी कटौती घोषणा गरेको हो।
मेटाले विभिन्न विभागका कर्मचारीहरूलाई हटाउँदै छ। त्यसमध्ये धेरैजसो व्यापार एवम् मार्केटिङ विभागका छन्।
कर्मचारी कटौलीले कम्पनीको सञ्चालनमा प्रभाव पार्नेछ। तर सिइओ जुकरवर्गका अनुसार मेटाले सन् २०२३ मा भने कर्मचारी नियुक्त गर्नेछ।
यतिबेला प्रविधि कम्पनी सञ्चालन एवम् चलयमान राख्न चुनौतीपूर्ण छ। त्यसभन्दा ठूलो चुनौति बजार प्रतिस्पर्धा बनेको छ। तर कर्मचारी कटौती गर्नेमध्ये मेटा पहिलो कम्पनी भने होइन। यसभन्दा अघि माइक्रोसफ्ट, स्न्याप, फ्लिपबोर्ड जस्ता प्रविधि कम्पनीहरूले पनि कर्मचारी कटौती गरेका थिए।