हालै सामाजिक सञ्चालमध्ये प्रख्यात ट्विटर इंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्क भएका छन्।
टेस्लाका सिइओ मस्कले झन्डै तीन साता अघि ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका हुन्। ट्विटरको स्वामित्व आफ्नो नाममा आएपछि उनले ट्विटरमा लेखेका थिए- चरो अब स्वतन्त्र भयो।
ट्विटर मस्को स्वामित्वमा आएको कतिपय प्रयोगकर्ताले रुचाएका छन् भने कतिले असन्तुष्टी जनाइरहेका छन्।
ट्विटर नचलाउने प्रतिबद्धता जनाउँदै आफ्नो उपकरणबाट ट्विटर एप डिलिट गरिरहेका छन्। तपाईंले पनि ट्विटर एप डिलिट गर्नुभएको छ? प्रयोगकर्ताले के बुझ्न जरुरी छ भने, ट्विटर एप डिलिट गर्दैमा खाता डिलिट हुँदैन।
भविष्यमा ट्विटर नचलाउने सोच बनाउनु भएको छ भने तपाईंले आफ्नो खाता डिलिट गर्न सक्नुहुन्छ। यस्तो छ ट्विटर खाता डिलिट गर्ने तरिकाः
- यसको लागि सुरूमा तपाईंको खाता लग-इन हुनु पर्यो।
- डेस्कटपबाट चलाउँदै हुनुहुन्छ भने स्क्रिनको बायाँपट्टी तपाईंले तीनवटा तेर्सो थोप्ला भएको विकल्प देख्न सक्नुहुन्छ। यो चयन गरेपछि 'सेटिङ्स एन्ड सपोर्ट' भन्ने देखिन्छ। त्यसलाई चयन गर्ने। त्यसपछि देखाइने 'सेटिङ्स एन्ड प्राइभेसी' विकल्प भित्र जाने।
(मोबाइलबाट चलाउँदै हुनुहुन्छ भने बायाँपट्टी आफ्नो फोटो देखिने आइकन थिच्नुहोस्। यहाँ तपाईंले 'सेटिङ्स एन्ड प्राइभेसी' भन्ने विकल्प देख्नुहुन्छ। यसलाई चयन गर्ने।)
- अब देखिने पृष्ठमा पनि विभिन्न विकल्प देख्न सक्नुहुन्छ। त्यसमध्ये सुरूमा भएको 'योर अकाउन्ट' विकल्प चयन गर्नुहोस्।
- यसपछि देखाइएको पृष्ठको सबैभन्दा अन्तिम विकल्प 'डिएक्टिभेट योर अकाउन्ट' रोज्नुहोस्। तपाईंले यही पृष्ठबाट आफ्नो पासवर्ड, इमेल, फोन नम्बरहरू अपडेट गर्न सक्नुहुन्छ।
- 'डिएक्टिभेट योर अकाउन्ट' विकल्प चयन गरेपछि देखाइने पृष्ठमा 'रिएक्टिभेसन पिरियड' भन्ने देख्न सक्नुहुन्छ। यसमा दुई विकल्प हुन्छन् '३० दिन' र '१२ महिना'। यो भनेको तपाईंले खाता डिएक्टिभेट गर्नुभए पनि कति समयसम्म लग-इन गर्दा पुनः खुल्छ भन्ने हो।
यसरी समय छनौट गरेर अन्तिममा 'डिएक्टिभेट' विकल्प थिचेपछि तपाईंको ट्विटर खाता निष्क्रिय हुन्छ। अन्य प्रयोगकर्ताले तपाईंको ट्विटर ह्यान्डल अर्थात् खाता भेट्टाउन सक्दैन।
यदी तपाईंले 'रिएक्टिभेसन पिरियड'मा ३० दिन छनौट गर्नुभएको छ भने ३० दिनसम्म खाता लग-इन नगर्नुस्। तपाईंको खाता डिलिट हुन्छ। १२ महिना छनौट गर्नुभएको छ भने १२ महिना अर्थात् एक वर्ष लग-इन नगर्नुस्। सो अवधिबीच खाता लग-इन गरेको खण्डमा भने तपाईंको खाता डिलिट हुँदैन।
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)ले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार मस्कले ट्विटर खरिद गरेको एक सातामै ट्विटरले १० लाख प्रयोगकर्ता गुमाएको छ। थुप्रै सेलिब्रेटीदेखि ट्विटरमा प्रख्यात प्रयोगकर्ताहरूले ट्विटर खाता बन्द गर्ने र नचलाउने बताउँदै ट्विट समेत गरेका छन्।