झन्डै तीन साता अघि सामाजिक सञ्चाल ट्विटर इंकको स्वामित्व आफ्नो नाममा लिएपछि कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले ‘चरो अब स्वतन्त्र भयो’ भन्दै ट्विट गरेका थिए।
उनले ट्विटरमा हरेक व्यक्तिले स्वतन्त्र रूपमा आफ्नो अभिव्यक्ति दिन सक्ने, रमाइलो मजाक गर्न पाउने बताएका थिए।
मस्कले ट्विटर खरिद गरेको केही समयदेखि नै उनीमाथि 'मिम' बने। ट्विटरमा सेयर भए। मस्कले त्यस्ता केही मिमहरूमा आफैँ जवाफ पनि दिए।
तर ट्विटरका नयाँ सिइओ मस्कले आफ्नै कर्मचारीले उनलाई जवाफ दिएको रुचाएनन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्विटरकै एक इन्जिनियरले सार्वजनिक रूपमा तथ्यसँगै मस्कको एक ट्विटमा रिप्लाई (जवाफ) दिएका थिए। यो कुरा मस्कलाई पचेन। त्यसैले ती इन्जिनियरलाई उनले कम्पनीबाट बर्खास्त गरिदिए।
मस्कले सार्वजनिक रूपमै ट्विटरका इन्जिनियर एरिक फ्रनहोफरलाई बर्खास्त गरेको घोषणा गरेका हुन्।
केही राष्ट्रहरूमा ट्विटर एप सुस्त भएको गुनासो परेपछि गत आइतबार मस्कले यसबारे माफी मागेका थिए।
माफी माग्दै एपमा समस्या भएको जिकिर गरेका थिए। उक्त ट्विटमा इन्जिनियर एरिकले रिप्लाई गर्दै आफूले ६ वर्षभन्दा बढी एनड्रोइडको लागि ट्विटर एपमा काम गरेको र मस्कको भनाइ गलत भएको बताएका थिए।
दुई पक्षबीच ट्विटरमै बहस भयो। मस्कले एरिकलाई समस्या समाधान गर्न के गरिरहेको छौ भन्दै प्रश्न गरे। त्यतिकैमा मस्कले एरिकलाई जागिरबाट बर्खास्त गरिदिएको बताइएको हो। ४१ वर्षिय इन्जिनियर एरिक विगत ८ वर्षदेखि ट्विटरमा आवद्ध थिए।
ट्विटर मस्कको स्वामित्वमा आएको कतिपय प्रयोगकर्ताले रुचाएका छन् भने कतिले असन्तुष्टी जनाइरहेका छन्।
टेस्लाका सिइओ मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका हुन्। म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)ले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार मस्कले ट्विटर खरिद गरेको एक सातामै ट्विटरले १० लाख प्रयोगकर्ता गुमाएको छ।