तपाईंले आफ्नो गुगल, सामाजिक सञ्जाल, मोबाइल बैंकिङ लगायतलाई सुरक्षित राख्न पासवर्ड प्रयोग गर्नुभएको होला।
हामी विभिन्न वेबसाइटमा भिन्न-भिन्न पासवर्ड प्रयोग गरिरहेका हुन्छौं। इन्टरनेटमा आफ्नो डिजिटल पहिचान सुरक्षित राख्न पासवर्ड महत्वपूर्ण हुन्छ।
तर पनि कतिपय समय आइडी ह्याक भइदिन्छ। कुनै पनि आइडी ह्याक गर्न ह्याकरलाई निश्चित समय लाग्छ। यो पासवर्ड कतिको बलियो छ भन्नेमा फरक पर्छ।
नर्ड पासले सन् २०२२ मा प्रयोग भएका सबैभन्दा सामान्य दुई सय वटा पासवर्डको सूची सार्वजनिक गरेको छ। सूचीसँगै उक्त पासवर्ड ह्याक गर्न लाग्ने समय र कति जनाले सो पासवर्ड प्रयोग गरिरहेका छन् भन्ने पनि समावेश गरेको छ।
सन् २०२२ को सबैभन्दा सामान्य पासवर्ड हो ‘पासवर्ड’। अंग्रेजीमा लेख्दा, password। यो शब्दलाई ४९ लाख २९ हजार एक सय १३ जनाले आफ्नो पासवर्ड बनाएका छन्। नर्ड पासका अनुसार यो पासवर्ड ह्याक गर्न एक सेकेन्ड भन्दा कम समय लाग्छ।
त्यस्तै १५ लाख २३ हजार ५ सय ३७ जनाले विभिन्न प्लेटफर्ममा आफ्नो पासवर्ड '123456' राखेका छन्। यो पासवर्ड सूचीको दोस्रो स्थानमा छ। तेस्रो स्थानमा '123456789', चोथो स्थानमा 'guest' र पाँचौ स्थानमा 'qwerty' पासवर्ड सबैभन्दा धेरै प्रयोग गरिएको पासवर्डको सूचीमा पर्छ।
सूचीको ५३ औं स्थानमा रहेको पासवर्ड '9136668099' ह्याक गर्न भने चार दिन लाग्ने रिपोर्टमा उल्लेख छ। यो पासवर्ड २६ हजार एक सय ५४ जनाले प्रयोग गरिरहेका छन्।
सन् २०२१ मा भने सबैभन्दा बढी प्रयोग भएको सामान्य पासवर्ड '123456' थियो। 'password' सूचीको पाँचौ स्थानमा थियो।
प्रयोगकर्ताले आफ्नो डिजिटल पहिचान सुरक्षित राख्न बलियो पासवर्ड प्रयोग गर्नु आवश्यक छ। बलियो पासवर्ड भन्नाले वेबसाइटले सुझाव दिएअनुसार अक्षर (साना अक्षर जस्तै 'a'/ ठूलो अक्षर जस्तै 'A'), अंक, संकेत लगायत मिलाएर पासवर्ड बनाउनु पर्छ।