एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरू ल्याएको छ।
ग्राहकहरूले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रूपमा यी प्लानहरू सुरू गर्न सक्ने कम्पनीले बताएको छ।
नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरू सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन्।
यी प्याकहरू मंसिर ४ गतेदेखि सञ्चालनमा आएका छन्। ग्राहकले सजिलोको कर सहित ९७ रुपैयाँ, सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्छन्।
स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रूपमा सजिलो प्लान प्राप्त गर्छन्।
यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबि डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ।
त्यस्तै, यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित १ रुपैयाँ ६२ पैसा प्रति मिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा पठाउन सक्ने बताइएको छ।
वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरूका लागि सहयात्री प्लान रहेको छ।
यो प्लान अन्तर्गत ग्राहकले १० रुपैयाँ मेन ब्यालेन्स, १०० एमबि डेटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन्।
यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्ने जनाइएको छ।
सहयात्री प्लान अन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन्। यस सेवा अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफूले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्छन्।
साथै, यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्छन्।
त्यस्तैगरी, अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान।
यो प्लान अन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसिमा रहेको १ जिबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबि डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन्।
साथै, यी सबै स्टार्टर प्याकहरूमा पहिलो रिचार्ज अफर पनि रहेको छ।
यो योजना अन्तर्गत सिम कार्ड सुरू गरेको अर्को दिनको मध्य रातिसम्म २०० रुपैयाँ र सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन्।
प्राप्त बोनस पे एज यू गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ। बोनस रकम ३ दिनको लागि मान्य रहन्छ।
कम्पनीका अनुसार नेपाल घुम्न आउने पर्यटकहरूका लागि पनि एनसेलले १०० रुपैयाँ, ५०० रुपैयाँ र एक हजार रुपैयाँका तीन प्लानहरू प्रदान गर्दै आएको छ।
१०० रुपैयाँको प्लानमा ग्राहकले २०० एमबि डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन्। ५०० रुपैयाँको प्लानमा पर्यटकले ५० रुपैयाँमा मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जिबी डेटा प्राप्त गर्न सक्छन्।
त्यस्तै, एक हजार रुपैयाँको प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसिमा रहेको २५ जिबी डेटाबाट फाइदा लिन सक्ने कम्पनीले बताएको छ।