चालु आर्थिक वर्ष २०७९/८० को चौमासिक (साउनदेखि कात्तिक) सम्ममा १७ लाख मोबाइल सेट आयात भएको छ।
सो परिमाणको फोन आयातका लागि देशबाट ११ अर्ब ३८ करोड रूपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
यो गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा ३४ प्रतिशतले कम हो।
गत वर्ष साउनदेखि कात्तिकसम्ममा २० अर्ब रूपैयाँ बराबरको २६ लाख बढी मोबाइल सेट भित्रिएको थियो।
सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँग मोबाइल आयातमा कडाइ गरेको छ।
वैशाख १३ गतेदेखि नै सरकारले असार मसान्तसम्मका लागि छ सय अमेरकी डलरसम्मका फोन आयातमा कडाइ गरेको थियो।
पछि आयातलाई परिमार्जन गर्दै भदौ १४ गतेसम्मका लागि तीन सय अमेरिकी डलरसम्मको फोन आयातमा कडाइ गरेको छ।
यसर्थ वैशाखदेखि नै महँगा स्मार्टफोन नेपाली बजारमा भित्रिन पाएका छैनन्। पछिल्लो समय अधिकांश ग्राहकको रोजाइ महँगा फोनमा छ।
ग्राहकको रोजाइ अनुसारको फोन ल्याउन नपाएकाले मोबाइलको आयात घटेको हो।
साउन महिनामा भित्रिएका कुल फोनमध्ये १० अर्ब मूल्य बराबरको सात लाख २९ हजार स्मार्टफोन छन्।
त्यस्तै, ९२ करोड मूल्य बराबरको नौ लाख ७१ हजार बारफोन छन्।
विदेशबाट उपहार स्वरूप आउने फोनको तथ्यांक भने भन्सार विभागमा उपलब्ध छैन।