मोबाइल एप्लिकेसन ह्वाट्सएपले नयाँ फिचर सार्वजनिक गरेको छ। नयाँ फिचर अन्तर्गत प्रयोगकर्ताहरूले अब आफूले आफैंलाई मेसेज गर्न मिल्ने भएको हो। ह्वाट्सएपको मातृ कम्पनी मेटाले सोमबार उक्त फिचर सार्वजनिक गरेको हो।
'मेसेज योरसेल्फ' भन्ने नयाँ फिचरको प्रयोगमा अब ह्वाटसएप प्रयोगकर्ताले आफूले आफैंलाई मेसेज/नोटहरू पठाउन र रिमाइन्डर राख्न सक्छन्। त्यस्तै उक्त फिचरको प्रयोगमा प्रयोगकर्ताले फोटा, भिडिओअरू र अडिओहरू पनि पठाउन सक्छन्।
कम्पनीका अनुसार यो फिचर आइफोन र एनड्रोइड फोन दुवैमा आउँदो सातादेखि उपलब्ध हुनेछ। हाल भने केही क्षेत्रमा उक्त फिचरको बेटा भर्सनको परिक्षण भइरहेको छ।
कसरी प्रयोग गर्ने 'मेसेज योरसेल्फ' फिचर?
'मेसेज योरसेल्फ' फिचर प्रयोग गर्न सुरूमा तपाईंको ह्वाट्सएप अपडेट भएको हुनुपर्छ। यसको लागि गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा गएर एप अपडेट गर्नुहोस्। यसपछि अपडेट भएको ह्वाट्सएप खोल्नुहोस्।
सुरूमा देखिने पृष्ठमा तपाईंले 'क्रियट न्यू च्याट' अर्थात् नयाँ व्यक्ति वा सम्पर्कसँग कुरा गर्न प्रयोग गरिने विकल्प देख्नुुहुन्छ।
यसलाई थिच्नुहोस्। सम्पर्क गर्न मिल्ने नम्बर वा नामको सूचीमा तपाईंले आफ्नो नाम/नम्बर देख्न सक्नुहुन्छ। यसलाई छनौट गरेर अब तपाईंले आफूले आफैंलाई मेसेज गर्न सक्नुहुन्छ।
हाल यो फिचर उपलब्ध छैन। प्रयोगकर्ताले करिब एक साता पछि यो फिचर प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ।