भायानेट कम्युनिकेसन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम बाल अधिकार र बाल हेरचाहको क्षेत्रमा अग्रणी संस्था बाल मन्दिरमा आयोजना गरेको छ।
कम्पनीले हाल चलिरहेको फिफा २०२२ विश्वकपलाई लिएर फुटबल थिममा आधारित उत्सवको आयोजना गरेको हो।
कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर निश्चल बस्नेत र स्वस्तिमा खड्काका साथै नेपाली फुटबलका खेलाडीहरू उपेन्द्रमान सिंह, विष्णु गुरुङ, अर्पण कार्की, प्रीती राई, प्रशान्त अवस्ति लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपाने र भायानेटको सिइओ सेवा पाठकले पनि उपस्थिति जनाए।
सिइओ पाठकले फुटबल समानताको खेल भएको बताउँदै उनले कार्यक्रममा आएका सम्पूर्ण अतिथि तथा बाल मन्दिरका सहजकर्तालाई धन्यवाद दिए।
त्यस्तै कार्यक्रममा उपस्थित अतिथिहरूले आफ्नो जीवनको एक दिन बाल मन्दिरका बच्चाहरूसँग बिताउन पाएकोमा खुशी व्यक्त गरे।
बाल मन्दिरको अध्यक्ष विद्या उपाध्याय न्यौपानेले यस कार्यक्रम र बाल मन्दिरलाई दिएको सहयोगको लागि भायानेटलाई धन्यवाद व्यक्त गरिन्।
कार्यक्रमको मुख्य भागमा बाल मन्दिरका बच्चाहरू र कार्यक्रमको लागि आएका अतिथिहरू सम्मिलित टिम बीचको फुटबल खेल खेलाइएको कम्पनीले बताएको छ।
भायानेटले बाल मन्दिरका सबै बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले स्टेशनरी सामग्री र शैक्षिक सामग्री पनि हस्तान्तरण गरेको हो।
भायानेटले सिफलमा रहेको बाल मन्दिर शाखालाई निःशुल्क इन्टरनेट र टिभी सेवा उपलब्ध गराएर बाल मन्दिरलाई थप सहयोग गर्ने योजना बनाएको छ।
साथै कम्पनीले बाल–बालिकालाई विश्वकप हेर्न सहज गराउने उद्देश्यले वर्ल्ड कप कुपन पनि उपलब्ध गराउने भएको जनाएको छ।