गुगलले सन् २०२२ को आफ्नो वार्षिक 'एयर इन सर्च' रिपोर्ट सार्वजनिक गरेको छ। बिबिसीका अनुसार सन् २०२२ मा विश्वभरबाट गुगलमा सबैभन्दा धेरै खोजिएको शब्द 'वर्डल' (Wordle) बनेको छ।
अमेरिकी सफ्टवेयर इन्जिनियर जोश वर्डलले सन् २०२१ मा अनलाइन शब्दको खेल वर्डल सार्वजनिक गरेका थिए। छोटो समयमै उक्त खेलले लोकप्रियता कमायो। यसमा प्रयोगकर्ताले दैनिक एउटा शब्द मिलाउनुपर्ने हुन्छ। पाँच अक्षरको शब्द मिलाउन प्रयोगकर्तालाई छ पटकसम्म मौका दिइन्छ। यो खेल संसारभरका जो-कोही इन्टरनेट प्रयोगकर्ताले निःशुल्क खेल्न मिल्छ।
यही खेल सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिएको शब्द बनेको हो। गुगलमा सबैभन्दा धेरै खोजिएको शब्दको सूचीको तेस्रो स्थानमा युक्रेन (Ukraine) परेको छ। यीबाहेक सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिएको शब्दको सूचीमा 'cacao', 'homer', 'canny', 'foray', 'trove', 'saute' र 'tacit' परेको छ।
बिबिसीका अनुसार गत सेप्टेम्बरमा बेलायती महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि प्रयोगकर्ताले गुगलमा यसै विषयमा पनि धेरै सामग्रीहरू खोजे।
सेलिब्रेटीहरूको कुरा गर्दा, सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिएको सेलिब्रेटी हलिउड अभिनेता जोनी डेप बनेका छन्। उनीपछि सूचीमा विल स्मिथको नाम छ। स्मिथले एक कार्यक्रममा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि यो अन्तर्राष्ट्रिय समाचार बनेको थियो।