विद्युतीय सामग्री र सेवा प्रवाह सम्बन्धी बृहत् प्रदर्शनी 'फिन इलेक्ट्रो–टेक २०२२' को तेस्रो दिन (शनिबार) अवलोकनकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।
मेलाको शनिबार मात्र २५ हजार बढीले अवलोकन गरेका बताइएकाे छ।
देशभरका विद्युतीय व्यवसायी, उत्पादनकर्ता, डिस्ट्रीब्युटर, डिलर, चेनल सप्लायर्सबीच अन्तर्क्रिया एवम् व्यापारिक सम्झौताहरू भएका छन्।
मेलाकै क्रममा शनिबार विद्युतीय सुरक्षाको विषयमा विचार गोष्ठी अर्थात् सिम्पोजियम पनि आयोजना गरिएको छ।
सिम्पोजियमको क्रममा इलेक्ट्रिसिटी सेफ्टीको विषयमा नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एसोसिएसनका अध्यक्ष ई एलआर तामाङले विशेष प्रस्तुति दिए।
कार्यक्रमको अध्यक्षता नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेलले गरेका थिए।
सिम्पोजियम आज (आइतबार) पनि सञ्चालन हुनेछ।
मेलामा दर्शक तथा व्यवसायीहरूको उत्साहपूर्ण सहभागिताका कारण अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिहरू पनि उत्साहित देखिएका छन्।
आफ्ना नयाँ प्रविधि तथा उत्पादनलाई चिनाउन यो मेला सार्थक देखिएको उनीहरूको टिप्पणी छ।
मेलामा चट्याङ रोक्ने उपकरण,अटोमेसन तथा सेन्सरयुक्त बत्ती, पंखाहरू, सेन्सरयुक्त वाटरप्रुफ सिसिटिभी क्यामेराप्रति अवलोकनकर्ताले विशेष रुची देखाएका छन्।
राष्ट्रिय आविष्कार केन्द्रद्वारा आविस्कार गरिएका विद्युतीय सामग्रीहरू, अत्याधुनिक इन्डक्सन सहितको ग्यास चुलो, भान्छाको फोहोरलाई मलमा रूपान्तरण गर्ने कम्पोस्टिङ मेसिनहरू पनि मेलाका विशेष आकर्षण बनेका छन्।
प्रदर्शनी नेपालको एकमात्र इलेक्ट्रिकल एवम् इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण हो।
फिन इलेक्ट्रो–टेक–२०२२को नारा ‘नेपालको समृद्धि, उर्जा खपत अभिवृद्धि’ रहेको छ।
मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोबल इम्पेक्स प्रा.लि.) रहेको छ।
प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् ।
मेला आयोजनाका सहयोगी संस्थाहरूमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान), नेपाल इञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (नीमा), र नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एसोसिएसन रहेका छन्।
नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीको उद्घाटन माननीय अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्।
प्रदर्शनीका तीन दिनमा गरी करिब ५२ हजार जनाले अवलोकन गरिसकेका छन्।
चार दिने प्रदर्शनीमा करिब ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको बताइएको छ।