ट्विटरले ‘ट्विटर ब्लु’ सब्स्क्रिप्सन (सदस्यता) फिचर पुनः सुरू गरेको छ। ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले सोमबारदेखि उक्त फिचर पुनः सार्वजनिक गरेका हुन्।
डेली मेलकाअनुसार अब ट्विटरमा ब्लु टिकका लागि एन्ड्रोइड र वेब प्रयोगकर्ताले मासिक ८ डलर (करिब एक हजार पचास रूपैयाँ) र एप्पल आइओएस प्रयोगकर्ताले मासिक ११ डलर (करिब १४ सय रूपैयाँ) तिर्नुपर्नेछ।
एन्ड्रोइड र वेब प्रयोगकर्ताहरूको तुलनामा एप्पल प्रयोगकर्ताहरूले बढी शुल्क किन तिर्नुपर्ने भन्नेबारे भने मस्कले हालसम्म कुनै स्पष्टीकरण वा प्रतिक्रिया जनाएका छैनन्।
मस्क ट्विटरका सिइओ भएपछि गत नोभेम्बरमा ब्लु टिकको लागि शुल्क तिर्नुपर्ने नियम घोषणा गरेका थिए। नोभेम्बर ८ देखि अमेरिका, क्यानेडा, न्युजिल्याण्ड र अष्ट्रेलियामा उक्त प्रणाली सुरू पनि भएको थियो। तर यी देशहरूबाट फर्जी ट्विटर खाताले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड खाताबाट फेक ट्विट गर्न थालेपछि ट्विटरले नोभेम्बर ११ बाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको थियो।
सोमबारबाट भने नयाँ शुल्कसहित सो फिचर पुनः सुरू गरिएको हो। अब प्रयोगकर्ताले आफ्नो ट्विटर खाताको नाम पछाडी ब्लु टिक चाहेमा उक्त प्रयोगकर्ताले खातामा आफ्नो फोन नम्बर अनिवार्य राख्नुपर्ने हुन्छ।
ब्यु टिक खाताका प्रयोगकर्ताले अन्य प्रयोगकर्ताहरूको तुलनामा बढी फिचर पाउनेछन्। जस्तै, उनीहरूले आफ्नो ट्विट सम्पादन गर्न मिल्छ। त्यस्तै उच्च गुणस्तरको भिडिओ अपलोड गर्न सक्नेछन् भने तुलनात्मक रूपमा उनीहरूको फिडमा कम विज्ञापन देखा पर्नेछ। यसबाहेक ब्लु टिक प्रयोगकर्ताले ‘रिडर मोड’ फिचर पनि उपयोग गर्न पाउनेछन्।