प्रविधि पत्रकार मञ्च (टिजेएफ) र एनसेलको सहकार्यमा प्रविधि पत्रकारहरूको लागि प्रवृत्ति विकास गर्ने सञ्चार सम्बन्धी ज्ञान अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ। मंगलबार नक्सालस्थित मेरियट होटलमा उक्त कार्यशालाको आयोजना गरिएको हाे।
कार्यक्रममा टिजेएफका कार्य समिति टोली, एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एन्डी चोङ, प्रमुख सूचना अधिकारी (सिआईओ) विसाल मणि उपाध्याय, प्रविधि विभाग प्रमुख बिवेग पोखरेल, उद्यम समाधान प्रबन्धक सुशिल बिष्ट, उद्यम एवम् प्रडक्ट प्रबन्धक रञ्जन शर्मालगायत एनसेलका सदस्यहरू र विभिन्न सञ्चार माध्यमका प्रविधि पत्रकारहरूको उपस्थिती थियो।
कार्यशालामा एनसेलका सिइओ एन्डीले विश्वको प्रविधि प्रवृत्ति र नेपाली प्रविधि प्रवृत्तिबारे जानकारी दिए। उनले एनसेलले एक मोबाइल सेवा प्रदायकसँगै सामाजिक दायित्व पूरा गर्न तपसिल कम्पनी रहेको बताए। उनका अनुसार एनसेलले स्वास्थ, शिक्षा र वातावरण क्षेत्रमा विभिन्न समय कार्यक्रमहरू गर्दैछ।
उनले एनसेलले २०८० सालमा नेपालमा ५-जी प्रविधिको पनि परिक्षण सुरू गर्ने उल्लेख गरे। '५-जीको महत्व व्यवसायिक क्षेत्रमा बढी छ। व्यक्तिगत स्तरमा यो सेवाले कतिको लाभदायी हुन्छ भन्नेबारे यकिन गर्न सकिन्न,' उनले कार्यशालामा उपस्थित सदस्यलाई सम्बोधन गर्दै भने।
सिआइओ विसाल मणि उपाध्यायका अनुसार नेपालभर ८५ प्रतिशत जनसंख्यामा एनसेलको ४जी नेटवर्कको पहुँच पुगिसकेको छ। त्यस्तै ९२ प्रतिशत जनसंख्याले एनसेलको नेटवर्क उपभोग गर्दैछन्।
यसका साथै उनले एनसेलले आफ्नो प्रयोगकर्ताहरूको गोपनियता हकलाई सम्मान गर्ने विषयलाई जोड दिए। उनले एनसेल नेटवर्कभित्र गरिने मेसेजहरू इन्ड-टू-इन्ड इन्क्रिप्टेड रहने बताए। अर्थात्, एनसेल कै सदस्यले पनि कुनै पनि प्रयोगकर्ताको मेसेज पढ्न सक्दैनन्।
एनसेलका प्रविधि विभाग प्रमुख बिवेकका अनुसार एनसेल नेटवर्कभित्र सबैभन्दा बढी युट्युब ३५ प्रतिशत, फेसबुक २६ प्रतिशत र टिकटक १९ प्रतिशत प्रयोग हुन्छ। त्यस्तै उनले नेपालमा हालै सार्वजनिक भोल्टे सेवाबारे पनि जानकारी गराए। एनसेलका अनुसार हाल यसले नेपालको ९५ प्रतिशत बैंकहरूमा आफ्नो नेटवर्कको सेवा दिइरहेको छ।
कार्यशालामा एनसेलको प्रस्तुतिपछि अन्तिममा पत्रकारहरूको जिज्ञासाहरूको पनि सम्बोधन गरिएको थियो।