अहिले इन्टरनेटमा 'च्याट जिपिटी'बारे प्रयोगकर्ताहरूको आकर्षण बढ्दो छ। गत नोभेम्बर ३० मा सार्वजनिक च्याट जिपिटी एक आर्टिफिसियल इन्टेलिजेन्टस (एआई) मोडल हो जसलाई प्रयोगकर्ताले कुनै पनि विषयमा प्रश्न सोध्न सक्छन्।र, यसले प्रयोगकर्ताको प्रश्नको उत्तर निकै सहज र संवादात्मक शैलीमा दिन्छ।
इन्टरनेट पहुँच भएका प्रयोगकर्ताहरूलाई अहिले कुनै पनि विषयमा जानकारी चाहेमा गुगल सर्च इन्जिन प्रयोग गरिरहेका छन्। गुगलमा जस्तै च्याट जिपिटीले पनि प्रयोगकर्तालाई उत्तर दिने हो।
तर गुगलले प्रयोगकर्ताको प्रश्नको जवाफ विभिन्न लिंक पेश गरेर दिन्छ। प्रयोगकर्तालाई ठ्याक्कै उत्तर पाउन मुश्किल पर्छ। तर च्याट जिपिटीको प्रयोगमा भने प्रयोगकर्ताले जस्तो उत्तर खोजेको हो, त्यस्तै पाउन सक्छन्।
उदाहरणको लागि, तपाईं कुनै संस्थामा कार्यरत हुनुहुन्छ। तपाईं बिरामी भएर बिदा बस्दै हुनुहुन्छ र यसको लागि कार्यालयमा निवेदन लेखेर पठाउनुपर्ने भयो।
अब तपाईंले च्याट जिपिटीमा उक्त विषयमा निवेदन लेख्न निर्देशन दिनुभयो भने च्याट जिपिटीले तपाईंको निवेदन केही सेकेन्डमै तयार पारिदिन्छ। यसरी तयार पारिएको निवेदनमा केही खाली ठाउँहरू भने छाडेको हुन्छ। जस्तै कार्यालयको नाम, ठेगाना, निवेदकको नाम इत्यादी।
च्याट जिपिटीमा तपाईंले कुनै पनि विषयबारे प्रश्न गर्नुभए यसले सटिक जवाफ दिन्छ। यसले कुनै पनि कम्प्युटर कोडिङदेखि हिसाबहरू पनि गरिदिन्छ। च्याट जिपिटी एआई च्याटबोट हो।
सन् २०१५ मा आर्टिफिसियल इन्टेलिजेन्टस (एआई) लाई विकास गर्न स्थापित संस्था ओपन एआईले च्याट जिपिटी सार्वजनिक गरेको हो। ओपन एआई अनुसन्धान प्रयोगशाला हो।
ओपन एआईका अध्यक्ष तथा सह-संस्थापक ग्रेग ब्रोकम्यानका अनुसार च्याट जिपिटी परिक्षणको रूपमा सार्वजनिक भएको ५ दिनमै यसको १० लाख प्रयोगकर्ता थिए।
यो कम्पनीको जिपिटी ३.५ प्रविधि मोडेलमा आधारित छ। यसलाई मानवजस्तै कुराकानी गर्न, उनीहरूको प्राकृतिक भाषा बुझ्न र प्राकृतिक भाषामा जवाफ दिनको लागि तयार पारिएको हो।
हाल च्याट जिपिटी चलाउन कुनै शुल्क लाग्दैन। तर भविष्यमा यसको प्रयोगको लागि केही शुल्क तोकिने विषयमा उनले संकेत दिए।
ओपन एआईका अनुसार अझै पनि च्याट जिपिटी पूर्ण रूपमा सिद्ध छैन। यसले सबै प्रश्नको उत्तर सही दिन्छ भन्नेमा यकिन गर्न सकिन्न। प्रयोगकर्ताले प्रश्न सही तरिकाले नसोद्धा यसले सही र सान्दर्भिक उत्तर नदिन पनि सक्छ। यसबारे कम्पनीको परिक्षण चल्दैछ।
च्याट जिपिटी चलाउन प्रयोगकर्ताले सुरूमा आफ्नो इमेल ठेगाना र सम्पर्क नम्बर हालेर आफ्नो खाता बनाउनुपर्ने हुन्छ। यसपछि प्रयोगकर्ताको नम्बरमा यसले भेरिफिकेसन कोड पठाउँछ। सो कोड हालेपछि मात्रै च्याट जिपिटी चलाउने पहुँच प्रयोगकर्ताले पाउनेछन्।
च्याट जिपिटीको चर्चा र प्रयोग दिनहुँ बढिरहेको समय कतिपय प्रयोगकर्ताले यसले गुगललाई प्रतिस्धापन गर्ने विषयमा चासो देखाएका छन्। तर यसबारे हालसम्म कुनै निश्कर्षमा पुग्न नसक्ने अन्तर्राष्ट्रिय अखबारहरू बताउँछन्।