इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले देशभर सहज रूपमा इन्टनेट सेवा प्रवाह गर्ने वातावरण मिलाउन सरोकारवालासँग अनुरोध गरेको छ।
संघले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले मनोमानी र गैरकानुनी कार्यहरू गरिरहेको बताउँदै उक्त कार्य छिट्टै रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो।
प्राधिकरणले तार व्यवस्थापनको लागि भन्दै विभिन्न ठाउँमा तार काट्नेक्रममा इन्टरनेट सेवा प्रदायकहरूको तार छानीछानी काट्दा संघसँगै ग्राहकहरूलाई पनि समस्या भएको आइस्पानको भनाइ छ।
हाल इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रदान गर्नका लागि विद्युतीय पोल, ओपिजिडब्लु लगायत पूर्वाधारहरूको प्रयोग गर्नुपर्छ। आइस्पानका अनुसार यी पूर्वाधारहरूमा विद्युत प्राधिकरणको एकाधिकार रहेको छ।
यसै कारण विद्युत प्राधिकरणले पोलको भाडा अचाक्ली वृद्धि गरेको, भाडाकै निहुँमा इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर, अपरेसनल प्वाइन्टमा विद्युत लाईन काट्ने गरेको र इन्टरनेट सेवा प्रवाह गर्ने तार (लाइन, ट्रंक लाइन, क्रसिङ, फाइबर) छानीछानी काट्ने गरेको आइस्पानको भनाइ छ।
आइस्पानका अध्यक्ष सुधीर पराजुलीका अनुसार हालसम्म काठमाडौं, विराटनगर, इनरुवा, काँकडभित्ता, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ्ग, सुर्खेत, कैलाली, बुटवल, अतरिया, टिकापुर, डोटी, ललितपुर, धनकुटा, दुहवी लगायत ठाउँमा प्राधिकरणले इन्टरनेट सेवा प्रदायकको तार काटिरहेको छ।
'प्राधिकरणले सहकार्य र नियमबमोजिम काम नगर्दा देशभर इन्टरनेट प्रवाहमा समस्या आएको छ,' आइस्पानका अध्यक्ष सुधीरले भने, 'सम्बन्धित निकाय र सरोकारवालाहरूलाई पटक-पटक भन्दा पनि समस्या सम्बोधन भइरहेको छैन। यो समस्याको सम्बोधन छिट्टै हुन आवश्यक छ। होइन भने इन्टरनेट सेवा प्रवाहको समस्या समाधान हुन निकै समय लाग्ने देखिन्छ।'