नेपाल टेलिकमले 'टू फ्याक्टर अथेन्टिकेसन' प्रणालीलाई अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरेको छ।
टेलिकमले सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याउन अनुरोध गरेको हो।
मुख्यत: मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरूले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि टेलिकमले यस्तो गर्न भनेको हो।
हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रुपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, सेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ।
यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरू, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पुर्याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै समवेदनशील वस्तुका रूपमा पनि स्थापित हुन गएको छ।
आफूले प्रयोग गरिरहेको/गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा उल्लेखित सम्पूर्ण कार्यहरू सुरक्षित ढंगले सम्पन्न हुने टेलिकमले जनाएको छ।
प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिङ कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्रीहरू असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधै रहन्छ।
यस्तो भएमा प्रयोगकर्ताको मोबाइल बैंकिङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ।
यस्तो अवस्थाको सिर्जना नहोस् भनी नेपाल टेलिकम सम्पूर्ण ग्राहकमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा स्वयम् उपस्थित भई सिमकार्ड लिन समेत टेलिकमको अनुरोध छ।