पोखरा र आसपास क्षेत्रमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्नेबारे इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले विज्ञप्ति जारी गरेको छ। पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेसन सेन्टरमा विद्युत काटिएका कारण इन्टरनेट सेवा अवरुद्ध हुने सम्भावना भएको हो।
यसमा आइस्पानले नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको तार छानीछानी काटेको आरोप लगाएको छ। संघका अनुसार सेवा प्रदायकहरूले विद्युत महसुल नियमित रूपमा भुक्तानी गर्दा समेत प्राधिकरणले विद्युत काटेको हो।
'हामी सेवा प्रदायकहरूले जति प्रयास गर्दा पनि अपरेसन पुनः सुरू गर्न नसक्ने अवस्था आएको छ,' आइस्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'त्यसैले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका क्षेत्रहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ।'
आइस्पानका अनुसार यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिएर क्षतिपूर्ती समेत दिनुपर्छ।
गत सोमबार मात्रै आइस्पानले एक पत्रकार सम्मेलनमार्फत विद्युत प्राधिकरणले अचाक्ली (६००-७०० प्रतिशतसम्म) आफू खुशी भाडा बढाएको, विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकहरूको तार काटेको लगायत विषय सम्बोधन गरेको थियो।
आइस्पानले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, मानव अधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकाय समक्ष आफ्नो गुनासो प्रस्तुत गगर्हदा समेत स्थितिमा कुनै सुधार आएको छैन।