नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपिनोग) ले माघ ८ गतेदेखि १० गतेसम्म एनपिनोग सेभेन नामक कार्यशाला आयोजना गर्ने भएको छ।
तीन दिने उक्त कार्यशाला पोखराको होटेल बाराहीमा आयोजना हुने बताइएको छ।
कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक विज्ञहरूबाट दुई विषयगत क्षेत्रमा तालिम सञ्चालन हुनेछ।
इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपिनोग) को सयुक्त रूपमा सञ्चालन गर्ने कार्यशालामा नेटवर्क एडमिनिस्ट्रेसन र सिस्टम एडमिनिस्ट्रसन बारे तालिम दिइने छ।
सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करिब १०० जनाले भाग लिने बताइएको छ।
एनपिक्सका प्रबन्ध निर्देशक रुपेश भक्त श्रेष्ठले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका व्यक्तिको ज्ञान आदान प्रदान गर्न तालिम आयोजना गर्न लागेको बताए।
एनपिनोगका अध्यक्ष समित जनले एनपीनोग वर्षको दुई पटक गर्ने र सो मध्ये एक काठमाडौं तथा अर्को काठमाडौं बाहिर गर्ने जानकारी दिए।
साथै, देशका लागि सक्षम व्यवसायिक प्रावधिक जनशक्ति तयार गर्नेमा एनपीनोगको भुमिका सधैं उच्च रहने प्रतिवद्धता जनाए।
यस कार्यक्रममा नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क, आईस्पान, नेपाल इन्टरनेट फाउन्डेसनसहित एपनिक र आईक्यान जस्ता अन्तर्राष्ट्रिय संगठनहरूको पनि सहयोग रहने बताइएको छ।